महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई ६ विकेटले हरायो
काठमाडौं/ नेपालले मलेशियाविरुद्ध जारी पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा ६ विकेटको सानदार जित हात पारेको छ। क्वालालम्पुरमा सम्पन्न खेलमा मलेशियाले दिएको ११२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १९ ओभर १ बलमा भेट्टाएको हो ।
नेपालका लागि इन्दु वर्माले अविजित ४८ रनको महत्वपूर्ण योगदान दिईन भने कप्तान रुविना क्षेत्रीले पनि अविजित २३ रन जोडिन् । बलिङतर्फ मलेशियाका आनिया हमिजाह, नुर दानिया र महिराले समान रूपमा एकरएक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन बनाएको थियो। मलेशियाकी मस एलिसा ५६ रन बनाएर टोलीको मुख्य स्कोरर रहिन्। नेपालका लागि कविता कुँवरले ३ विकेट लिइन् भने पुजा मल्ल र कविता जोशीले एकरएक विकेट झारे ।
यस जितसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरीमा पुगेको छ। शृङ्खलाको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो, दोस्रो खेलमा ६ विकेटले जित हासिल गरेको थियो भने तेस्रो खेलमा १३ रनले पराजित भएको थियो ।
अब शृङ्खलाको निर्णायक पाँचौं तथा अन्तिम खेल भोलि हुनेछ ।





