‘मुटु’ बचाउने धुलिखेल अस्पतालको ‘क्याथल्याव’

धुलिखेल अस्पतालको ‘क्याथल्याव’मा ९ महिनाको अवधीमा ३ सय ३० जनाले मुटुको उपचार गराएका छन । जसमध्ये ३०१ जनाको ‘एन्जियोग्राम’ गरिएको छ भने १०४ जनाको ‘एन्जियोप्लास्टी’ गरिएको छ । ८ जनालाई ‘पेसमेकर’ जडान गरिएको छ ।

मोतीराम तिमल्सिना/विकास तिमल्सिना
पाँचखाल नगरपालिका शिखरपुर घर भएकी ३७ बर्षिया मैया कामी दशैको टिकाको दिन अर्थात असोज १६ गते धुलिखेल अस्पतालको ‘इमरजेन्सी’ मा ल्याइन् । परिक्षणको क्रममा उनको मुटुमा समस्या देखियो – ह्दयघात । दशै भए पनि उनि टिका लगाउँदिनन् । ३/४ महिना देखि उनि ‘चर्च’मा जाने गरेकी छिन् । दुई छोरी र एक छोराको आमा मैयाको श्रीमान मजदुरी गर्छन् । सम्पत्तिका नाममा घडेरीका रुपमा रहेको केहि आना जग्गा छ । दैनिक आयश्रोत नहुँदा खान, लाउन र दैनिक जीवनयापनमा समस्या छ ।

१० वर्षका छोरा पढिरहेका छन् । १७ र १९ वर्षका दुई छोरी पनि छन् । २०८२ भदौ २८ पहिलो पटक उनको छाति दुख्यो । सामान्य होला भन्ने सोचेर केहि गरिनन् । दिनभरी कमाएको बारीमा मकै भाँच्ने लगायतका काममा ब्यस्त भईन् । केटाकेटीहरुको चाहना पुरा गर्न उनले आफुलाई दुखेको छातिका बारेमा कसैलाई सुनाईनन् । दुखिरहेको छाति लिएर उनि काममा सक्रिय भईरहिन् । शनिबार चर्चमा जाने गर्थिन । त्यहाँ पास्टरलाई भनिन । पास्टरले विरामी मैयाका लागि प्रार्थना गराए । कहिले दुख्ने, कहिले कम हुने यो क्रम चलिरह्यो ।

२०८२ असोज १३ गते अलिक धेरै विरामी भए पछि उनि पुनः चर्चमा पुगिन् । उनलाई केहि दिन प्रार्थना गराएर राखियो । तर पनि दुखाई कम भएन । त्यस पछि मात्रै पास्टर लगायतले केहि रकम जोहो गरे । मैयालाई सन्तानको साथमा धुलिखेल अस्पताल पठाईयो । श्रीमान भने चर्चमा जाने कुरा मन पराउँदैनन् थिए । मैया चर्चमा गएको उनलाई फिटिक्कै मन परेको थिएन । चर्चमा गएर विरामी झनै चर्काे भएको भन्दै उनी रिसाई मात्रै रहन्छन् ।
मुटुमा समस्या देखिएको जानकारी पाए पछि मैया आत्तिईन् । यो उमेरमा नै मुटुको समस्या ? त्यसमाथी पनि उपचारका लागि लाग्ने पैसा ? न स्वास्थ्य बीमा छ । न बीमा गर्न पैसा । स्थानीय सरकारले समेत उनका लागि सहुलियत प्रदान नगरेको मैयाको दावी छ । तर पनि अस्पतालले उपचार शुरु ग¥यो । भएको केहि रकम सकियो । बाँकी पैसा छैन । मैयालाई तत्कालै धुलिखेल अस्पतालको इमरजेन्सी वार्डबाट क्याथल्यावमा पठाउने तयारी गरियो । दशैको टिका । सबै ब्यस्त र मस्त हुने समय बडा दशै । चाडपर्व भन्दा पनि विरामीको ज्यान बचाउनु सबै भन्दा ठुलो खुशी हो

चिकित्सकहरुका लागि । मुटु रोग विशेषज्ञ डा.राजेन्द्र कोँजु लगायतको टिम उपचारमा जुट्यो । ह्दयघातका कारण मैयाको मुटुमा समस्या देखिएको थियो । तत्कालै एन्जियोप्लास्टी गरे पछि सहज भयो । दुःखाइ कम भए लगत्तै मैया सोध्न थालिन छोरी खै ? किन ? डा.कोँजुको प्रश्न थियो । उत्तरमा मैयाले भनिन–म निको भएँ भने छोरा छोरीहरुका लागि केहि गर्न सक्थें । उनिहरुको भविश्यका लागि पनि म बाँच्नु पर्छ ।

मैयाको शारिरिक र पारिवारक अवस्थामा डा.कोँजुले मन थाम्न सकेनन । उनि भक्कानिय । र भने–नआत्तिनुस । तपाईलाई निको हुन्छ । उपचारका लागि लाग्ने शुल्क धुलिखेल अस्पतालले समेत सहजिकरण गर्नेछ । त्यसको ब्यवस्थापनका लागि सहजिकरण म आफै गर्नेछु । उपचारका लागि करिव ३ लाख रुपैया खर्च भएको छ । एक लाख रुपैया नेपाल सरकारले ब्यहोर्नेछ । बाँकी रकमका लागि मैयाले भनिन– डाक्टर साब ! मलाई निको मात्रै बनाएर भएन नियमित औषधी सेवनका लागि के गर्ने होला । डा.काँेजुले भने – सक्दो कोशीस गर्नेछु ।

मैया उदाहरण मात्रै हुन् । धुलिखेल सामुदायिक अस्पतालमा मुटु रोगको उपचारका लागि विशेषज्ञ चिकित्सकहरुको समुह कृयाशिल छ । डा. कोजु एक्लै हुँदा शुरु भएको मुटु विभागमा मुटु सम्वन्धी उपचारका लागि करीब ३० जनाको समुह दैनिक विरामीहरुको सेवामा तल्लिन छ । प्रा.डा.राजेन्द्र कोँजु, प्रा.डा सञ्जय हुमागाई, सह प्रा.डा सुर्यराज पाठक, उप प्राध्यापक डा.निशान भट्टराई, सह–प्रा.डा अनिश जोशी, सह प्राध्यापक डा.रविन कर्माचार्य, उप प्राध्यापक डा.सतिश बैद्य, डा. राम मेहत्ता, डा. जीज्ञाशा रेग्मी, डा श्रीजन सिलवाल लगायतको समुहले बालबालिका देखि युवा र प्रौढसम्मका नागरिकको मुटुको उपचार गराउँछन् । मुटु नजिकै छाति दुख्दा दौडेर पुग्न सक्ने र सहज उपचार पाउने थलो बनेको छ धुलिखेल अस्पताल ।

बालबालिकाहरुको मुटुको उपचार गर्ने चिकित्सकहरुको समुह अलग्गै छ । डा अनिश जोशी लगायतको समुहले बालबालिकाहरुको मुटुको उपचार गर्दै आएको छ । बालबालिकाहरु बाहेक २२ वर्ष उमेर देखि १०२ वर्षको उमेर समुहका नागरिकहरुको सन् २०२५ सेप्टेम्बरसम्म ९ महिनाको अवधीमा धुलिखेल अस्पतालको क्याथल्यावमा इमरजेन्सी उपचारका लागि आएका ९० जनाले सेवा पाएका छन् । ह्दयघात भएर अर्थात त्यसको शंका लागेर आएका विरामीहरुको आपतकालिन अवस्थामा उपचार भएको छ । मुटु सम्वन्धी समस्या लिएर आएका ३ सय ३० जना विरामीहरु मध्ये ३ सय १ जनाको ‘एन्जियोग्राम’ गरिएको छ । १ सय ४ जनालाई भने ‘एन्जियोप्लास्टी’ गरिएको छ । ८ जनालाई ‘पेसमेकर’ जडान गरिएको छ । यो स्थायी प्रकारको हो । हरेक १० वर्षको अवधीमा विरामीको मुटुलाई सहज हुन राखिएको पेसमेकरमा भएको ब्याट्री परिवर्तन गर्नु पर्छ । २० जनाको हकमा अस्थायी प्रकारको पेसमेकर राखिएको थियो । २ जनालाई आईसिडी राखिएको छ ।

मुटु सम्वन्धी उपचारका लागि अलग्गै विभाग गठन गरिएको छ । पर्याप्त पूर्वाधार र उपकरणको अभाव छ । प्रविधि अनुसारको उपकरण र पूर्वाधार हुन सके मुटु सम्वन्धि समस्या भएर राजधानी पुग्नु पर्ने बाध्यतामा रहेका नागरिकहरुले दक्ष जनशक्तिबाट धुलिखेल अस्पतालमा सहज, सरल र तत्कालै उपचार पाउन सक्नेछन् ।
सरकारले विपन्न नागरिकहरुलाई दीर्घ रोग सम्वन्धी उपचार गराउन उपलब्ध गराउने एक लाख रुपैयाले मुटुको उपचारका लागि सहज त गरेको छ नै तर मुटुको उपचारका लागि प्रयोग गरिने उपकरण तथा आवश्यक सामाग्रीहरु महङ्गो हुने भएकाले आर्थिक अवस्था सामान्य भएका नागरिकले पैसा तिरेर उपचार गराउन सहज छैन । तर पनि धुलिखेल अस्पताल नागरिकहरुलाई नयाँ जीवन दिन निरन्तर दौडिरहेको छ । दैनिक समस्या परेर आएका नागरिकहरुको मुटु छामिरहेको छ । मुटुको धड्कन नियमित गराउने प्रयत्न गरिरहेको छ । राज्यका निकायहरुले यस्ता अस्पतालहरुमा प्रविधि र पूर्वाधार उपलब्ध गराउन सके नागरिकहरुले सहज सेवा पाउनेमा दुईमत हुन सक्दैन ।