मंसिरमै नियमित महाधिवेशन गर्ने कांग्रेस महामन्त्री गगन थापाको मौखिक प्रस्ताव
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। जारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा बोल्दै उनले पार्टीको महाधिवेशन मंसिरमा गर्ने बताएका हुन्।
उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन माग गर्दै ४० प्रतिशत हस्ताक्षर संकलन गरिरहेको दाबी गरिरहेका थिए। तर, अब विशेष होइन नियमित महाधिवेशन गर्ने उनले प्रस्ताव राखेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए। महामन्त्री थापाले लिखित नभइ मौखिक प्रस्ताव राखेका हुन्।
२०७८ मंसिरमा कांग्रेसको १४ औँ महाधिवेशन भएको थियो। प्रत्येक ४ वर्षमा कांग्रेसको नियमित महाधिवेशन हुने प्रावधान छ।
कांग्रेसको महाधिवेशनका लागि क्रियाशील सदस्यता अझै टुंगो लागेको छैन। केन्द्रीय समितिको बैठकपछि एकहप्ताभित्र क्रियाशील सदस्यताको टुंगो लगाउन सकिने महामन्त्री थापाको भनाइ छ।
पार्टी सभापति शेरबहादुर देउवा सहभागी नभएपछि उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसिरहेको छ।
जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएकाले देउवाले भने उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिने विकल्पसहित छलफलमा छन्।
आजको पदाधिकारी बैठकमा नआएको देउवा २६ गतेको केन्द्रीय समितिमा सहभागी हुने तयारी छ।






