बाढी-पहिरोको कारण अझै कुन-कुन राजमार्ग अवरुद्ध छन् ?

काठमाडौँ/ बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् ।

शुक्रबार नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार कोशी र बागमती प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोला सडक र मकालु गाउँपालिका-३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ ।

मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरूमा पनि सडक पूर्णरुपमा बन्द छन् । तमोर करिडोरअन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका-२ नावाखोला सडक पनि बन्द छ ।

यस्तै, बागमती प्रदेशमा पनि दुई वटा सडकहरू पूर्ण रूपमा बन्द भएका छन् । पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ मा तीन स्थानमा सडक बन्छ छ ।

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११को माम्तिखोला, डालाबेसी, बल्ढुंगा, बाँझोखेतलगायतका ठाउँमा सडक पूर्णरुपमा बन्द छ । यी ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो । खुलाउने काम जारी छ ।