जेनजी आन्दोलन पछि ह्वात्तै बढे राहदानीलाई फोटो खिचाउने, राहदानी भने कहिले–कहिले ?

धुलिखेल/जेनजी आन्दोलन पछि नेताहरुको राहदानी रोक्का गर्ने हल्ला सँगै सर्वसाधारणले राहदानी पाउन सकेका छैनन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति लगायतका केहि उच्च तहका ब्यक्तिहरुले सुविधाजनक रुपमा राहदानी लिएका खवर बाहिरिएका बेला काभ्रे जिल्ला प्रशासनमा पैसा तिरेर फोटो खिचाउनेहरुले एक महिना पुगिसक्दा समेत राहदानी पाउन नसकेका हुन् ।

‘काभ्रेपलाञ्चोक जिल्लाबाट नियमित रुपमा फाराम भरेर फोटो खिचाएका ब्यक्तिहरुले पनि अत्यावश्यक भए पछि द्रुत सेवाका लागि राजधानी जान बाध्य हुनु परेको छ’–जिल्ला प्रशासन कार्यालय काभ्रेका सुब्बा राजेन्द्र सापकोटाले भने–‘किन ढिला भयो र कहिले आउँछ भन्ने उत्तर दिनै नसक्ने गरी सेवाग्राहिहरुको फोन र एसएमएस आउन थालिसकेका छन् ।’ काभ्रेपलाञ्चोक जिल्लामा हप्ताको दुई पटक हुलाक डाँक सेवा मार्फत राहदानी आउने गरेको थियो । भाद्र १७ गते फोटो खिचाएका मध्ये ४ जनाले राहदानी प्राप्त गरेका छन् । त्यस पछि फोटो खिचाएका एक हजार भन्दा धेरै ब्यक्तिहरुले राहदानी पाउन सकेका छैनन ।

तथ्यांक अनुसार २०८२ भदौ १७ देखि असोज २३ गतेसम्म नियमित तर्फ ९ सय २८ जनाको राहदानी प्राप्त हुन सकेको छैन । नियमित बाहेक विग्रिएका वा दोहोरो फोटो खिच्नु पर्नेहरुको संख्या उत्तिक्कै छ । त्यो सख्या समेत जोडिँदा एक हजार भन्दा धेरै नागरिकहरु राहदानी पाउनबाट बञ्चित छन् । जेनजी आन्दोलन पछि केहि दिन कम भएको राहदानीका लागि फोटो खिचाउनेको संख्या फेरी ह्वात्तै बढेको छ । असोज २३ गते ७६ जनाले फोटो खिचाए । असोज २२ गते ५९ जनाले र असोज २१ गते ३२ जनाले फोटो खिचाए । सरकारले विदा दिएर फिर्ता लिएको दिन असोज २० गते १० जनाले फोटो खिचाए ।

निराशाका कारण आन्दोलन गरेको र आन्दोलन पछि आशा जगाउनु पर्ने सरकारले गति लिन नपाउँदै सरकार गठन भएको महिना दिनबाट राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । तर परराष्ट्र मन्त्रालयले राहदानी समयमै उपलब्ध गराउन नसक्दा तत्कालै विदेश जाने प्रकृया शुरु गर्नु पर्ने अवस्थाका ब्यक्तिहरुलाई असहज भएको छ ।

जिल्लामा ५ हजार तिरिसकेर फोटो खिचाउनेहरु दु्रत गतिमा सेवा लिन थप ७ हजार तिरेर त्रिपुरेश्वर दौडन थालेका छन् । द्रुतमा सेवा दिने अवधी पनि अझै लम्विएको र समयमा पाउन नसकेको गुनासो नागरिकहरुको छ । अहिले प्रधानमन्त्री समेत रहेकी शुशिला कार्की स्वयंम परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारीमा छिन् ।