ध्वंसात्मक घटनाको एक महिना– काभ्रेमा पुनः ११ जना पक्राउ

बनेपा, असोज २४ । ध्वंसात्मक घटना भएको एक महिना पुरा भएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट धरौटीमा रिहा भएकाहरुलाई प्रहरीले पुनः पक्राउ गरेको छ । धरौटी बुझाए लगत्तै प्रहरीले सोहि स्थानबाट पक्राउ गरी पुनः अभद्रमा मुद्दा दर्ता गरेको छ । विहिबार नै ११ जनालाई म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।
‘जिल्ला अदालतबाट ८ जना र प्रशासन कार्यालयबाट ३ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो’–प्रहरी श्रोतले भन्यो–‘धरौटीमा छुटे लगत्तै उनिहरुलाई पुनः प्रहरीले पक्राउ गरेको छ ।’ पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय बनेपाले अभद्र ब्यवहारमा म्याद थप गरेको छ । उनिहरु सबै प्रहरी कार्यालय लुटपाट, तोडफोड र आगजनीमा संलग्न भएको आशंका गरिएको छ । ति मध्ये एक राजधानीमा बैकमा भएको नगद र सुन लुटपाटमा संलग्न थिए । उनि त्यस अघि पनि विभिन्न चोरीको घटनामा संलग्न भएको अभिलेखबाट खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले सिराहा जिल्ला भगवानपुर गाउँपालिका २ का नरेशकुमार यादव, ओखलुढुंगा कटुन्जे ४ का पासाङ तामाङ । संखुवासभा मकालु गाउँपालिकाका विकास राईलाई असोज २१ गते धरौटीमा छाड्ने आदेश दिएको छ । उनिहरु सबै जना १०÷१० हजार धरौटीमा रिहा भएका थिए । रिहा भए लगत्तै उनिहरुलाई पक्राउ गरिएको थियो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ८ मध्ये ७ जनालाई १०÷१० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका थिए भने एक जनालाई १५ हजार धरौटी माग गरेका थिए । सूचना अधिकारी अधिकृत अक्षयकुमार दनुवारका अनुसार उनिहरु सबैले विहिबार असोज २३ गते धरौटी बुझाएर रिहा भएका थिए । रिहा भए लगत्तै प्रहरीले पुनः उनिहरुलाई पक्राउ गरी अभद्रमा मुद्दा दर्ता गरी म्याद थप गरेको छ । शुशान्त लो, अच्युत खड्का, सिर्जन सुवाल, तिमोथी तामाङ, सन्तोष श्रेष्ठ, प्रविण कार्की र महेशकुमार मुखियालाई १० हजार र सुबास गौतमलाई १५ हजार धरौटी माग गरिएको थियो ।
बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोल र ३६ राउण्ड गोली सहित २०८२ भाद्र २८ गते शनिबार पक्राउ परेका थिए । प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको भए पनि अभद्रमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै बनेपा ९ नयाँबस्ति बाट हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २८ र २९ गते प्रहरीले ७३० राउण्ड गोली फेला परेको थियो । २०८२ भदौं २४ गते इलाका प्रहरी कार्यालय बनेपाबाट लुटिएको गोली भएको पक्राउ परेकाहरुले बयान दिएका थिए । तर पनि प्रहरीले सबैलाई अभद्रमा मात्रै मुद्दा दर्ता गरेको थियो । बनेपा नगरपालिका ९ का अछुत खड्का, सिजन सुवाल, सुबास गौतम, बारा बनौली सखुवा ८ का महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का सुशान्त लो, तेमाल गाउँपालिका २ का तिमोथी तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का प्रविन कार्की पक्राउ परेका थिए ।

के भएको थियो काभ्रेमा
कारागार कार्यालय, बनेपा नगरपालिका (पुर्ण क्षति), ईलाका प्रहरी कार्यालय, बनेपा (पूर्ण क्षति), ट्राफिक प्रहरी कार्यालय बनेपा (पूर्ण क्षति), प्रहरी चौकी पाँचखाल (पूर्ण क्षति), प्रहरी चौकी, पनौती, काभ्रे (आंशिक), प्रहरी चौकी हिगुवापाटी, कुन्ताबेशी (पुर्ण क्षति), प्रहरी विटहरु (बनेपा, धुलिखेल, पाँचखाल, पनौती, कुशादेवी लगायतका विभिन्न स्थानमा) र पनौती नगरपालिका (तोडफोड, आंशिक क्षति ) भएको थियो । त्यस्तै नेकपा एमाले, बनेपा र नेपाली काँग्रेस, बनेपामा आगजनी, लुटपाट र तोडफोड गरिएको थियो । युलेन्स स्कुल, बनेपा ३ मा आगजनी गरिएको थियो ।
पुर्व मन्त्री गोकुल बास्कोटा (भक्तपुरको घर पूर्ण क्षति), पुर्व सांसद शिवप्रसाद हुमागाई (पनौती स्थित घरमा तोडफोड, सवारीसाधनमा आगजनी), अशोक ब्याञ्जु, धुलिखेल नगरपालिका प्रमुख (घर पूर्ण रुपमा क्षति), रामशरण भण्डारी, पनौती नगरपालिका प्रमुख (घरमा तोडफोड र लुटपाट), गिता बञ्जारा, पनौती नगरपालिका, उपप्रमुख (घर पूर्ण रुपमा क्षति), भिम न्यौपाने, पुर्व नगर प्रमुख, पनौती नगरपालिका (छोराहरु दिपक न्यौपाने र विमल न्यौपाने लगायतका तीन वटा घर पूर्ण रुपमा क्षति), पुरुषोतम अधिकारी, वडा अध्यक्ष, पनौती नगरपालिका (लुटपाट र घर तोडफोड) र क्याप्टेन रामेश्वर थापा (पूर्ण क्षति ३ वटा घर) भएका छन् ।

काभ्रेका चारको निधन
तेमाल ७ का ४२ बर्षिय दिलनारायण तामाङ (मजदुरीबाट फर्कदै गर्दा), भुम्लु ४ का २७ बर्षिय सरोज खत्री (गंगा दाहालको घर भित्र जलेर), चौरीदेउराली गाउँपालिका ६ घर भई हाल चितवन कालिका नगरपालिकामा अस्थायी बसोबास र काठमाडौ महानगरपालिका गौशाला ८ मा बस्ने १९ बर्षिया निकिता गौतम (घरको छतमा बसिरहेका बेला छातीमा गोली लागेर) र पनौती १० का रसिक खतिवडाको काठमाडौमा भएको घउटनामा निधन भएको थियो । उनिहरु काभ्रेका भए पनि अन्यत्र भएका घटनामा निधन भएको हो ।

केहि घाईते
काभ्रे स्थायी घर भएका केहि युवाहरु घाईते भएका छन् । केहि अझै अस्पतालमा उपचारार्थ छन् भने केहि डिस्चार्ज पछि घरमा आराम गरिरहेका छन् । केहि अपाङ्ग भएका छन् ।

के गर्दै छ प्रहरी ?
प्रहरीले आब्हान गरेको सार्वजनिक इमेल मार्फत देशभरबाट ६० हजार भन्दा धेरै इमेल प्राप्त भएका छन् । काभ्रे प्रहरीलाई पनि ५ सय भन्दा धेरै इमेल प्राप्त भएका छन् । केहि जाहेरी दर्ता भएका छन् । प्रहरी आफैले पनि ध्वंसात्मक आन्दोलनमा संलग्नहरुको भिडियो, फोटो र अन्य प्रमाणहरु संकलन गरिरहेको छ । त्यसकै आधारमा पक्राउ परेकाहरु मार्फत थप अनुसन्धान गरिरहेको छ ।