दलहरूलाई राष्ट्रपतिले भने– संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प हो

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उक्त आग्रह गरेका हुन् ।

उनले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पु¥याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।

उनले पार्टीहरूले पनि कन्फ्युजन सृजना नगरी जेन्जीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संसय पैदा भएको बताएका थिए ।

उनीहरूले यो शंका र संसय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने बताएका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाइन् ।