निर्वाचन तालिका सार्वजनिक, छैन सुरसार
काभ्रेपलाञ्चोक जिल्लामा २०७९ मसिंर देखि २०८१ चैत्र मसान्तसम्म २९ सय १६ मतदाता थपिएका छन् ।
मोतीराम तिमल्सिना
धुलिखेल
२०८२ फागुन २१ गते तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको छ । मसिंर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको तालिका तोकेको छ । माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचार प्रसार हुनेछ । प्रचार प्रसार सकिए पछि मौन अवधी शुरु हुनेछ । फागुन २१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म देशभर नै एकै चरणमा मतदान हुनेछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका एकतर्फी भएको भन्दै दलहरुले आपत्ति प्रकट गरेका छन् । यद्यपी निर्वाचनबाट नभाग्ने बताएका दलहरुलाई सर्वदलिय बैठकका लागि निर्वाचन आयोगले असोज ३० गते बोलाएको छ । कार्तिक मसान्तसम्म मतदाता नामावली अद्यावधीक गर्ने तालिका यस अघि नै सार्वजनिक भएको छ । मसिंर १५ गते समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्द सूची पेश गर्ने तालिका छ । निर्वाचनमा भाग लिने प्रयोजनका लागि कार्तिक ३० भित्र नै दल दर्ता गर्न आयोगले अनुरोध गरेको छ ।
जेनजी पुस्ताले शुरु गरेको आन्दोलनमा भएको घुसपैठ र ध्वंसात्मक आन्दोलनले सरकारी सम्पत्ति र इतिहास खण्डहर बनाएको छ । साथै नेताहरुको घर परिवार उठिबास लगाएको छ । ७६ जनाले सोहि अवधीमा ज्यान गुमाएका छन् । अझै एक सय भन्दा धेरै अस्पतालमा उपचारार्थ छन् । केहि जेलका अपराधी छन् । केहि चोरी र लुटपाट गर्न गएकाहरु घर भित्रै जलेर मरेका छन् । केहिले सरकारी सम्पत्ति नष्ट गर्न खोज्दा ज्यान गुमाउनु परेको छ । तत्कालिन सरकारले राजिनामा दिए पछि बनेको नयाँ सरकारले गठन गरेको आयोग समेत निश्पक्ष नभएको भन्दै प्रश्न उठेको छ । जेनजी पुस्ताले उठाएको शुसासन र पारदर्शिता साथै पटक पटक सरकार बदलिरहने निर्वाचन प्रणाली परिवर्तन हो । यो सरकारले निर्वाचन प्रणाली परिवर्तन गर्न सक्दैन । प्रधानमन्त्री शुशिला कार्कीले स्पष्ट भनिसकेकी छिन–‘यो सरकारको मुख्य दायित्व निर्वाचन मात्रै हो । त्यसबाट निर्वाचित जनप्रतिनिधिहरुले मात्रै संविधान शंशोधन मार्फत निर्वाचन प्रणालीका विषयमा निर्णय गर्नेछ ।’ स्थानीय स्तरसम्म संगठन विस्तार गरेका पुरानै राजनीतिक दलहरुको बोलवाला अहिले पनि कायम छ । त्यसबाट माथि उठेर विद्रोह गर्दा पनि कस्तो उम्मेदवार संसदमा पुग्छ ? उसले निर्माण गर्ने कानूनले मुलुकलाई कता लैजान्छ ? मुलुक रहे न राजनीति रहने हो ? स्थानीयहरु समेत गम्भिर बनेर निर्णय गर्ने तयारीमा छन् । सरकारले निर्वाचन निर्वाचन भनिरहे पनि राजनीतिक दलहरु अझै त्यसका लागि तयार भएको देखिदैन ।
तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्व सकिए पछि मात्रै दलहरु निर्वाचनको तयारीमा जुट्छन वा दलहरु पहिला आफ्नै लोकतान्त्रिककरणमा जुट्छन् ? नेतृत्व परिवर्तन लगायतका विभिन्न मागहरु पार्टी भित्र उठे पनि सहजै नेतृत्व हस्तान्तरणका लागि प्रमुख तीन दलका शिर्ष नेता तयार छैनन । त्यसकारण पनि दल, दल बाहेकको निर्वाचन र तत्कालै जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव देखिदैन । तर पनि सरकारले गरेको तयारी अनुरुप निर्वाचन आयोगले मतदाता नामावली कार्तिक मसान्तसम्म खुलाएको छ । मतदानका लागि युवाहरुकै उत्साहमा कमि छ । जसलाई मतदान गरे पनि आखिर त्यस्तै त रहेछ ? यो निराशालाई आशामा बदल्न सरकारले वातावरण निर्माण गर्नु जरुरी छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो पटक अद्यावधिक गरिएको २०८१ चैत्र मसान्तसम्म तयार गरिएको मतदाता विवरण अनुसार जिल्लामा ३ लाख १२ हजार ९ सय ७९ मतदाता मतदानका लागि योग्य थिए । त्यस पछि केहि थपिएका मतदाताको संख्या कार्तिक मसान्तमा मात्रै अन्तिम हुनेछ । २०८२ कार्तिक १६ सम्म १८ वर्ष उमेर पुगेका ब्यक्तिहरुले मतदान गर्न पाउने ब्यवस्था अध्यादेश मार्फत गरे पछि अझै केहि मतदाताहरु थप हुने छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीका अनुसार मतदाताहरुको फोटो खिचाउने र नामावली अद्यावधीक गर्ने कार्य कार्तिक मसान्तसम्म जारी रहनेछ । सूचना अधिकारी नरेश मानन्धरका अनुसार २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ६३ मतदाता थिए । २०८१ चैत्र मसान्तमा सार्वजनिक गरिएको तथ्यांक अनुसार १८ वर्ष पुगेका कुल मतदाताको संख्या ३ लाख १२ हजार ९ सय ७९ रहेको छ । यो तथ्यांकले २ हजार ९ सय १६ मतदाता मात्रै थपिएको देखिन्छ । सरकारले अध्यादेश मार्फत २०८२ कार्तिक मसान्तसम्म १८ वर्ष पुगेका र त्यतिबेलासम्म मतदाताका लागि नामावलीमा फोटो खिचाएका मतदाताहरुका लागि मतदानमा सहभागि गराउने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचन २०७९ मा ३ लाख ३ हजार ५ सय ६० मतदाता योग्य थिए । २०८१ चैत्र मसान्तसम्म काभ्रेपलाञ्चोक जिल्लामा महिला १ लाख ५३ हजार ३ सय ८३, पुरुष १ लाख ५९ हजार ५ सय ९४ र अन्य २ गरी ३ लाख १२ हजार ९ सय ७९ पुगेको छ । २०७९ मसिंर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ५२ हजार ६ सय २१ मतदाता थिए भने क्षेत्र नम्वर २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता थिए । क्षेत्र नम्वर १ मा १ सय ८९ मतदान र क्षेत्र नम्वर २ मा २ सय मतदान केन्द्र रहेका थिए । कुल मतदान केन्द ३ सय ८९ रहेका थिए ।
क्षेत्र नम्वर १ मा तत्कालिन नेकपा माओवादी केन्द्रका नेता सुर्यमान दोङ्ग विजयी भएका थिए । उनलाई नेपाली काँग्रेस लगायतका दलहरुले सहयोग गरेका थिए । उक्त क्षेत्रमा नेपाली काँग्रेसको उम्मेदवारी नै दर्ता भएको थिएन । उनले ३४ हजार ५ सय १२ मत प्राप्त गरेका थिए । उनका निकटत प्रतिद्धन्द्धी नेकपा एमालेका नेता रेशम लामा थिए । गठवन्धन हुँदा पनि झिनो मतान्तरले लामा पराजय भएका थिए । क्षेत्र नम्वर २ मा नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटा गठवन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईलाई पराजय गर्र्दै विजयी भएका थिए । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेका थिए । तत्कालिन समयमा निर्वाचनका लागि उम्मेदवारहरुले काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ३३ लाख रुपैया खर्च गर्न सक्ने सिमा तोकिएको थियो । मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रलाई आधार मानिएको थियो ।
निर्वाचन क्षेत्र नम्वर १ मा १७ र निर्वाचन क्षेत्र नम्वर २ मा १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २०७९ असोज २३ गते उम्मेदवारी मनोनयन गरिएको थियो भने मसिंर ४ गते मतदान गरिएको थियो । उम्मेदवारहरुले २०८० माघ ४ गते अन्तिम पटक दिएको समयसिमा अगावै खर्च विवरण सार्वजनिक गरेका थिए । त्यो अवधीसम्म पनि खर्च विवरण सार्वजनिक नगर्ने देशघरका १ हजार ३७ उम्मेदवार कारवाहीको सूचिमा छन् । काभ्रेका सबै उम्मेदवारले खर्च विवरण बुझाएका छन् । खर्च विवरण नबुझाउने उम्मेदवारका लागि १५ हजार जरिवना तोकिएको छ ।






