महिलाहरुले जान्नै पर्ने र परीक्षण गराउनु पर्ने ‘मेनोपज’, धुलिखेल अस्पतालमा एक साता विशेष क्लिनिकल सेवा

धुलिखेल÷स्त्री रोग तथा प्रसुति विभाग, धुलिखेल अस्पतालले २०८२ असोज २६ गते आईतबार देखि एक साता लामो मेनोपज क्लिनिक संचालनमा ल्याउने भएको छ । नियमित उपचार सेवा प्रदान गरिरहेको मेनोपजलाई थप सहज र सरलिकृत गर्ने उदेश्यले विश्व मेनोपज दिवसका अवसरमा उक्त क्लिनिक संचालन गरिएको विभागिय प्रमुख एवं स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा.आभा श्रेष्ठले बताईन् ।
‘महिनावारी सुक्न लागेका वा सुकिसकेका महिलाहरुका लागि आवश्यक पर्ने सेवा, उनिहरुमा आउने परिवर्तन तथा समस्या, उपचार र न्यूनिकरणका बारेमा जानकारी गराउने छौं’–डा.आभा श्रेष्ठले भनिन–‘धुलिखेल अस्पतालले मेनोपज क्लिनिक शुरु गरेका कारण महिलाहरुलाई महिनावारी रोकिएपछि हुने परिवर्तनहरु बुझ्न र सजिलै पार गर्न सहयोग पुग्नेछ । क्लिनिकमा महिलाहरुले आवश्यक स्वास्थ्य परिक्षण, उपचार र सल्लाह पाउनेछन् । ताकी उनिहरुले यो जीवनको नयाँ चरण आत्मविश्वासका सागथ विताउन सकुन् ।’

विहान ९ बजे देखि ५ बजेसम्म प्रदान गरिने क्लिनिक मार्फतको सेवासँगै अभिमुखिकरण कक्षाहरु समेत संचालन हुनेछन् । हरेक महिलाले मेनोपजलाई सामान्य जीवनको हिस्सा जस्तो स्वीकार गर्न सकुन भन्ने मुख्य उदेश्य रहेको विशेषज्ञ डा.सुमिस्ति शाक्यले बताईन् । ‘महिलाले सहि जानकारी र सहयोग पाउने वातावरण बनाउने क्लिनिकको मुख्य लक्ष्य हो’–डा.शाक्यले भनिन–‘ग्रामिण तथा शहरी क्षेत्रका सबै महिलाहरुलाई सहज सेवा उपलब्ध गराउन, मेनोपजका बारेमा खुलेर कुरा गर्न सक्ने समाज बनाउन, महिलालाई शारिरिक र मानसिक रुपमा बलिया बनाउन, दीर्घकालसम्म सबै महिलाको स्वास्थ्य र सम्मानलाई महत्व दिने लक्ष्य लिएका छौं ।’
क्लिनिकमा मेनोपजसम्वन्धी स्वास्थ्य जाँच र परामर्श, हर्माेन सम्वन्धी समस्या पहिचान र ब्यवस्थापन, हर्माेन रिप्लेसमेन्ट थेरापी सम्वन्धी जानकारी र उपचार, मानसिक स्वास्थ्य तथा निद्रा समस्या सल्लाह, यौन स्वास्थ्य सम्वन्धी सहायता, जीवनशैली परिवर्तन सल्लाह दिईनेछ । जसमा आहार, विहार, ब्यायाम, तनाव नियन्त्रणसँग सम्वन्धित विषय हुनेछन् ।
मेनोपज प्रारम्भिक परिक्षणमा ब्लड प्रेसर, तौल मापन, हर्माेन परीक्षण तथा थाईराईडको समेत परीक्षण गरिनेछ । हड्डी स्वास्थ्य परीक्षण सम्वन्धी क्याल्सियम र भिटामिन डि परीक्षण हुनेछ । समग्र स्वास्थ्य मुल्यांकन प्याकेजमा रक्त परीक्षण हुनेछ । जसमा सिविसि, लिपिड प्रोफाईल, ग्लुकोज, आरएफटी, ईसिजी, मेमोग्राफी हुनेछ । स्त्रीरोग परीक्षणमा स्वास्थ्य इतिहासका जानकारी लिईनेछ । जसमा महिनावारी, लक्षणहरु, यौन स्वास्थ्य सम्वन्धी विषय हुनेछन् भने पेटको तल भागको शारीरिक जाँच, स्तन र योनिको भित्री भागको जाँच गरिनेछ । आवश्यक परेमा प्याप स्मियर वा अन्य प्रयोगशाला परिक्षण गरिनेछ । संक्रमण, रक्तश्राव र असामान्य लक्षणको मुल्यांकन हुनेछ ।
स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा.आभा श्रेष्ठका अनुसार मेनोपजका लक्षणहरु बुझ्न, यौन अंङ्गहरुमा कुनै परिवर्तन, संक्रमण वा रोगको प्रारम्भिक पहिचान गर्न, स्वास्थ्य समस्याहरुको रोकथाम वा चाँडै उपचार गर्न मेनोपज क्लिनिक वा नियमित परिक्षण गर्न आवश्यक छ । क्लिनिकमा गोपनियता र सम्मानका साथ अनुभवी चिकित्सकहरुद्वारा परीक्षण गरिने डा.सुमिस्ति शाक्यले बताईन् ।