राष्ट्रपति पौडेल र पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेल र पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि आज हुने भनिएको जेनजीसँगको बैठक सोमबारलाई सारिएको छ।

राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै जेनजीका प्रतिनिधिले शीतलनिवास अगाडि नाराबाजी समेत गरेका छन्।

अहिले राष्ट्रपति पौडेल प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरुसँग छलफलमा रहेको शीतलनिवास स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्रीसहित सबै दलका नेताहरुसँग निर्वाचनबारे छलफल गरेका थिए।
यता, एमाले अध्यक्ष ओली बिरामी भएपछि एमालेको सचिवालय बैठक स्थगन गरिएको छ।

शुक्रबार भक्तपुरस्थित ओली निवासमा सुरु सचिवालय बैठक दोस्रो दिन आज (शनिबार) पनि जारी रहने तालिका थियो।

तर अचानक अध्यक्ष केपी शर्मा ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागी हुन जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका छन्। बैठकको पहिलो दिन राति अबेरसम्म खटेकाले ओली अस्वस्थ भएको बताइएको छ।