धुलिखेल–४ मा प्रगतिशील बाल क्लव सञ्जालले गर्‍यो विभिन्न स्थानमा सरसफाई

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ को सहयोग र समन्वयमा प्रगतिशील बाल क्लव सञ्जालको आयोजनामा धुलिखेल ४ का विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ । शुभ दिपावली, नेपाल सम्वत, छठ पर्वहरुको अवसरमा बालबालिकाहरुले सरसफाई कार्यक्रम आयोजना गरिएको प्रगतिशील बाल क्लव सञ्जालकी अध्यक्ष आशिका तामाङले बताईन् ।

वडा नम्वर ४ मा रहेको बाल क्लवले दशै तथा तिहार जस्ता चाडपर्वहरुमा विभिन्न रचनात्मक कृयाकलाप आयोजना गर्दै आएको छ । अध्यक्ष आशिका तामाङले चाडपर्व लक्षित सचेतनामुलक सरसफाई कार्यक्रम आयोजना गरिएको बताईन् । ‘हरेक दिन बालबालिकाहरु तथा अन्य संघ संस्थाहरुले सरसफाई गर्न सम्भव पनि छैन र हुँदैन’–उनले भनिन–‘घर वरपर आफै

नियमित सरसफाई गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न शनिबार चाडपर्व केन्द्रित अभियान गरिएको हो ।’
वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले बालबालिकाहरुको रचनात्मक कृयाकलापका लागि वडाको तर्फबाट सहयोग र समन्वय गरिएको बताए । दशैमा चङ्गा वितरण तथा तिहारमा सांस्कृतिक कार्यक्रमका लागि समन्वय तथा अन्य समयमा खेलकुदका सामाग्रीहरु उपलब्ध गराउने गरिएको छ । स्टेशनरी सामाग्री वितरण गर्दै बालबालिकाहरुलाई रचनात्मक कृयाकलाप मार्फत सक्रिय गराउने उदेश्यले बार्षिक कार्यक्रममा उल्लेख गरी सरसफाई लगायतका कार्यक्रम आयोजना गरिएको अध्यक्ष तिमल्सिनाले बताए । सांस्कृतिक कार्यक्रम, चित्रकला प्रतियोगिता, जनचेतनामुलक कार्यक्रम, अन्य कार्यक्रमहरु आयोजना गरिएको अध्यक्ष तिमल्सिनाले बताए ।
सरसफाई कार्यक्रममा बाल क्लव सञ्जाल सल्लाहकार तथा वडा स्तरीय युवा परिषद संयोजक आशिका थापा, वडा सदस्यहरु, स्थानीयहरु, प्रहरी तथा बाल क्लवमा आवद्ध बालबालिकाहरुको सहभागिता रहेको थियो ।