जेनजी आन्दोलन: प्रहरीले काभ्रेमा के के गुमायो ?

प्रहरीले काभ्रेमा २ हजार राउन्ड भन्दा धेरै गोली, महत्वपूर्ण अभिलेख सहित केहि भवन र सवारी साधनहरु गुमाएको छ । 
मोतीराम तिमल्सिना
धुलिखेल
२०८२ भाद्र २४ गते जेनजीका नाममा भएको आन्दोलनका कारण प्रहरीले काभ्रेमा केहि हजार राउण्ड गोली सहित महत्वपूर्ण अभिलेख गुमाएको छ । 
ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरीका २ हजार भन्दा धेरै राउन्ड गोली चोरिएका छन् । गोली चोर्नेहरुको पहिचान प्रहरीले गरिसकेको छ । जसले भवनमा आगजनी सहित लुटपाट ग¥यो ति मध्येका केहि पक्राउ परिसकेका छन् । अन्यको खोजी भईरहेको छ । पक्राउ परेकाहरुबाट करिव एक हजार राउन्ड गोली बरामद भएको छ । अझै २ हजार भन्दा धेरै गोली भेटिएका छैनन । प्रहरीले स्थानीय स्तरमा चोरिएका गोलीहरु देखेमा, फेला पारेमा वा देखेमा तत्काल प्रहरीलाई खवर गरिदिन पटक पटक आब्हान गरिसकेको छ । तर पनि त्यसरी लुटिएका र चोरिएका गोलीहरु फिर्ता कसैले गरेको छैन । 
ध्वंसात्मक आन्दोलनमा सहभागि भएकाहरुले प्रहरीलाई कार्यालयबाट जर्बजस्ति निकालेर आगजनी गरेका थिए । केहि महत्वपूर्ण अभिलेख सहितका सामाग्री लुटेर लगेका थिए । प्रहरी कार्यालयमा भएका केहि सामाग्रीहरु लुटिएको भिडियो सार्वजनिक भएको छ । आगजनीका कारण महत्वपूर्ण अभिलेखहरु नष्ट भएका छन् । प्रहरीका पोशाक लगायतका अन्य सामाग्रीहरु नष्ट भएका छन् । कम्प्युटर तथा अन्य सामानहरु जलाईएका छन् । विद्यार्थीको उत्तर पुस्तिका जलाईएको छ । १५ जना थुनुवा फरार भए । भवन पूर्ण रुपमा जल्यो । भवन परिसरमा राखिएका दुई वटा गाडी र तीन वटा मोटरसाईकल जलाईएका छन् । जलेको भवनको खरानी पखाल्दै प्रहरी पुनः स्थापित हुने प्रयत्न गरिरहेको छ । आन्दोलनकारीले प्रहरीलाई भवनबाट निकालेर आगजनी गरेका थिए । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको पूर्ण रुपमा भवन जल्यो । ट्राफिक प्रहरी कार्यालयको एउटा सवारी साधन जल्यो । प्रहरीका पोशाक लगायतका अभिलेखहरु जले । नागरिकहरुका विलबुक र केहि लाईसेन्स जले । ट्राफिकसँग सम्वन्धित सबै सामाग्रीहरु जले । अहिले सहयोगीहरुको सहयोगमा ट्राफिक प्रहरी कार्यालय पुनः पहिलाको अवस्थामा फर्कने प्रयत्न गरिरहेको छ । 
प्रहरी चौकी पाँचखाल र हिगुवापाटी पूर्ण रुपमा जले । आन्दोलनका नाममा प्रहरीले भवन खाली गरेर जिल्ला केन्द्रित भए पछि ति भवनहरु जलाईएको थियो । पनौती प्रहरी चौकीमा ढुंगामुढा गरियो । जिल्ला कारागार कार्यालयमा कैदीहरुको तर्फबाट भाग्ने योजनाका साथ करेन्ट सर्ट गराई आगजनी गरियो । आगजनी नियन्त्रणमा लिएर सहज बनाईएको थियो ।