जेन्जी आन्दोलन र दलहरुको अबको बाटो
जेन्जी आन्दोलन नेपाल भन्दा पहिला विश्वका धेरै देशहरुमा भएको पाइन्छ । जुन आन्दोलनले त्यहाँको बेथिनहरुलाई उजागर गरेको थियो । पेरु, पाराग्वे, सर्विया, केन्या, इन्डोनेसिया, श्रीलंका, बंगलादेश लगायतका देशहरूमा आन्दोलन भएका थिए । ती सबै आन्दोलन सामाजिक, आर्थिक सुधारको लागि भएको थियो । नेपालमा पनि २०४६ साल यताका बेथितिहरू प्रति युवाहरू सचेत बन्दै गएका थिए । सामाजिक सञ्जालमा नेपो बेबी अर्थात नेपो किड्रसको अभियान चलाएर नेताहरूका सन्तानहरूको विलासी जीवनशैली प्रकाश पारिएको थियो । भ्रष्टाचारमुक्त समाजका लागि अभियान नै चलाइएको थियो । प्रजातन्त्रको पुनस्थापना पछि राजनितिक दलहरूको सबै क्षेत्रमा दलियकरण गर्दै गएको यथार्थता युवाहरू माझ छिपेको थिएन । दलहरु राज्यका अंगहरुलाई लोकतान्त्रीकरण गर्नु भन्दा पनि दलियकरण गर्न मस्त देखिए । यी सबै घटनाक्रमहरुले युवाहरुलाई आन्दोलनमा होमिन बाध्य पारको थियो जुन समयको माग पनि थियो ।
नेपालको जेन्जी आन्दोलन देशको राजनीतिक, सामाजिक र आर्थिक व्यवस्थामाथि गहिरो असन्तुष्टि र परिवर्तनको चाहनाको प्रतिविम्ब हो। विशेषगरी नयाँ पुस्ता — “जेनेरेशन–जेड” — ले पुरानो राजनीतिक अभ्यास, नातावाद, भ्रष्टाचार र अवसरको असमान वितरणविरुद्ध उठाएको यो आन्दोलन समकालीन इतिहासको एक महत्वपूर्ण मोडको रूपमा देखिएको छ। आन्दोलन निष्कर्षमा पुगेर सत्ता परिवर्तन समेत भएको अवस्था छ भने दलहरुमा चेत अझ खुलको पाइदैन ।
आन्दोलनका मूल कारणहरू
जेन्जी आन्दोलन आकस्मिक रूपमा उत्पन्न भएको होइन; यसका जराहरू लामो समयदेखि रहेको असन्तुलन र अन्याय नै प्रमुख कारण हुन् ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रश्न उठायो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल विचार अभिव्यक्तिको माध्यम मात्र नभई जीवनशैलीको हिस्सा पनि हो ।
बेरोजगारी, आर्थिक निराशा र राजनीतिक पहुँचविहीनताले युवाहरूमा गहिरो असन्तोष जन्माएको छ। देशमा अवसरका ढोका सीमित वर्गका लागि मात्र खुल्ने अवस्था बनेको थियो । राजनीतिक दलहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव, नेतृत्वको पुस्तान्तरण नहुनु, र नातावाद संस्कृतिले लोकतान्त्रिक मूल्य मान्यतामा धक्का पुर्याएको थियो ।
यी सबै कारणहरूले गर्दा युवाहरूले अबको राजनीति पुरानो ढाँचामा चल्न नसक्ने ठानेका थिए। आन्दोलनले यही चेतनालाई खुला रूपमा अभिव्यक्त गर्यो ।
अब दलहरूको बाटो
राजनीतिक दलहरूका लागि यो आन्दोलन एउटा गम्भीर चेतावनी र सुधारको अवसर पनि हो। दलहरूले आन्दोलनका मागलाई अस्वीकार वा दमन गर्ने होइन, संवाद र आत्मसमीक्षाको बाटो लिनुपर्छ। जनभावनाको सम्मान गर्नु नै लोकतन्त्रको आत्मा हो। दलभित्रको संरचना पुनर्संरचना गरी युवापुस्तालाई नेतृत्व तहमा स्थान दिनुपर्छ। पुस्तान्तरण र विचारको नविकरण बिना दलहरू जनविश्वास पुनःस्थापित गर्न सक्दैनन्। सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र रोजगारी सृजना जस्ता ठोस नीतिगत कदम तत्काल कार्यान्वयनमा ल्याउन जरुरी छ। आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिइ संविधानलाई पुन लिकमा ल्याउनु पर्दछ ।
जेन्जी आन्दोलन केवल असन्तुष्टिको प्रदर्शन होइन, यो नयाँ राजनीतिक चेतनाको आरम्भ हो। यसले दलहरूलाई आफ्नो नीति, व्यवहार र नेतृत्वप्रति पुनर्विचार गर्न बाध्य बनाएको छ । अब राजनीतिक दलहरूले परिवर्तनलाई अवसरका रूपमा स्वीकार गरी जवाफदेही, पारदर्शी र युवा–मैत्री राजनीति अपनाउन सके भने लोकतन्त्र सुदृढ हुनेछ; अन्यथा, जनता र इतिहास दुवैले उनीहरूलाई अस्वीकार गर्नेछ ।





