ओलीको रणनीति : एमाले सचिवालय बैठकले ११औँ महाधिवेशनको मिति तोक्ने तयारी
भक्तपुरको गुन्डूमा बसिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ५८औँ सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशनको मिति तोक्ने सम्भावना रहेको छ।
गत भदौ २३ र २४ गतेको जेन(जी) आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई पदत्यागको दबाब बढेपनि, उनी त्यसबाट नहटेका र बरु पार्टीलाई महाधिवेशनतर्फ लैजाने तयारीमा जुटेका छन्।
उनीकै पहलमा भक्तपुरको गुन्डूस्थित निवासमा बसेको सचिवालय बैठकमा महाधिवेशन छिट्टै गर्ने विषयमा गत शुक्रबार पनि छलफल भएको थियो। तर शनिबार ओली बिरामी परेपछि रोकिएको बैठक आइतबार पुनः बसेको हो।
ओलीविरुद्ध बहुमत सचिवालय सदस्यहरूको समर्थन जुटे पनि अब पार्टीभित्रको नेतृत्व परिवर्तन महाधिवेशनको माध्यमबाटै हुने संकेत देखिएको छ। यसैले, बैठकले अहिले उठेका सबै प्रश्नको समाधान महाधिवेशनमार्फत खोज्ने र त्यसबाट पार्टीलाई नयाँ दिशातर्फ अघि बढाउने निष्कर्षमा पुगेको बताइन्छ।
एमालेले भदौ २३ गतेका जेन(जी) युवाहरूको आवाजलाई स्वाभाविक मानेको भए पनि, भदौ २४ गते भएको हिंसा र आगजनीलाई अस्वाभाविक ठहर गर्दै त्यसले देशलाई ठूलो क्षति पुर्याएको जनाएको छ। जेन(जी) आन्दोलनकै दबाबमा सत्ताच्यूत भएका ओली पद नत्यागेपछि अब पार्टीभित्र महाधिवेशनमार्फतै समाधान खोज्ने तयारी भएको हो।
शनिबार बस्ने भनिएको सचिवालय बैठक ओली बिरामी भएको कारण स्थगित गरिएको थियो। तर दिनभर ओलीले सचिवालयमा बहुमत सुनिश्चित गर्न प्रयास गरेपछि आइतबार बैठक पुनः बसेको हो।






