जेनजी आन्दोलनमा भएको क्षतिको विवरण पठाउन जाँचबुझ आयोगको आग्रह

भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले विभिन्न राजनीतक दल, व्यक्ति तथा संघ संस्थालाई आन्दोलनमा भएको क्षतिको विवरण पठाइदिन आग्रह गरेको छ।

आइतबार विज्ञप्ति प्रकाशित गरी आयोगले ‘सो सन्दर्भमा उक्त प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तपसिल बमोजिमको ढाँचामा आयोगको इमेल ठेगाना मा पठाउनहुन साथै घटनालाई पुष्ट्याई गर्ने प्रमाणहरु जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरु भए सो समेत यस आयोगमा उपलब्ध गराउन हुन’ अनुरोध गरेको छ।

आयोगले क्षतिको विवरण पठाउने ढाँचासमेत सार्वजनिक गरेको छ। यस्तै, हुलाक मार्फत पनि क्षतिको विवरण पठाउन सकिनेछ।

हुलाकबाट पठाएको क्षतिको विवरणको सफ्टकपी आयोगको इमेल ठेगानामा अनिवार्य पठाउन आग्रह गरिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जनाएका छन्।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको हो।