माओवादीले ४० जिल्लामा गठन गर्‍यो जेनजेड रेड फोर्स, प्रचण्डलाई नै नेतृत्व दिनुपर्ने सुझाव

नेकपा माओवादी केन्द्र निकट जेनजीहरूले ‘जेनजेड रेड फोर्स’ गठन गरेका छन् । शनिबार अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमिल्सिनाको संयोजकत्वमा गठन भएको रेड फोर्स ४ दिनमै ४० जिल्लामा विस्तार भइसकेको छ । बाँकी जिल्लामा पनि छिट्टै गठन गर्ने तिमल्सिनाले जानकारी दिइन् ।

यो अभियान उनले नै सुरुवात गरेकी हुन् । जसको संयोजक पनि आफैं छिन् । तिमिल्सिनाले भनिन्, ‘अरू कसैले आँट गर्न सकेनन् । मैले नै यो अभियान सुरु गरेँ । अहिले यो अभियानमा हजारौं जेनजी जोडिएका छन् ।’

२९ असोजमा पत्रकार सम्मेलन गरी रेड फोर्सको आधिकारिक घोषणापत्र जारी गरिने उनले जानकारी दिइन् । देश र पार्टीका लागि योगदान पुर्‍याएका व्यक्तिहरूलाई पार्टीमा फर्काउन रेड फोर्सले भूमिका खेल्ने उनले बताइन् । रेड फोर्सको नेतृत्व लिएकी तिमिल्सिना पार्टीभित्र अझै ५ वर्ष अध्यक्ष प्रचण्डको विकल्प नभएको बताउँछिन् ।

उनी भन्छिन्, ‘अबको पाँच वर्ष प्रचण्डलाई नै नेतृत्व दिनुपर्ने सुझाव देशैभरिबाट आएका छन् । पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्मका शुभचिन्तकहरूले पार्टीभित्र प्रचण्डको विकल्प खोज्नु हुँदैन भन्ने सुझाव छ । त्यसैले अझै ५ वर्ष प्रचण्डकै नेतृत्व रहन्छ ।’

अबको एक कार्यकाल प्रचण्डलाई दिइसकेपछि मात्रै जेएनजीबाट पार्टीको नेतृत्व लिनुपर्ने सुझाव आएको तिमिल्सिना बताउँछिन् ।
रेड फोर्सले माओवादी केन्द्रविरुद्ध फैलाएको भ्रम चिर्ने उनी बताउँछिन् । १७ हजार मानिस मारेको भनेर माओवादीविरुद्ध फैलाइएको भ्रम रेड फोर्सले चिर्ने उनी बताउँछिन् ।

पार्टी छाडेर गएका जति पनि पूर्वजनमुक्ति सेना, शहीद परिवार छन्, उनीहरू सबैलाई फेरि पार्टीमा ल्याउन रेड फोर्सले भूमिका खेल्ने उनी बताउँछिन् ।

माओवादी पार्टीलाई फेरि एक नम्बर पार्टी बनाउनका लागि रेड फोर्सले भोक–निन्द्रा, प्यास केही नभनी काम गर्ने उनी बताउँछिन् ।