फरार कैदीद्वारा काँग्रेसको विशेष महाधिबेशन माग गर्दै काभ्रेमा हस्ताक्षर

बनेपा÷जेलबाट भागेका फरार कैदीले नेपाली काँग्रेस काभ्रेको महाधिबेशन प्रतिनिधिका तर्फबाट विशेष महाधिबेशन माग गर्दै हस्ताक्षर गरेको खुलासा भएको छ । नेपाली काँग्रेस काभ्रेका पुर्व कोषाध्यक्ष, २०७४ सालमा प्रदेश सभाका उम्मेदवार समेत रहेका चन्द्रबहादुर लामा (सिवी) ले नेपाली काँग्रेसको विशेष महाधिबेशन माग गर्दै हस्ताक्षर गरेका हुन् । 
कारागार प्रशासनले जेलबाट भागेर फरार रहेको सूचिमा लामाको नाम समावेश गरिएको छ । उनी कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड लगायतका विभिन्न वित्तिय संस्थाको करिव ८ अर्ब भन्दा धेरै हिनामिना गरेको अभियोगमा केहि महिना देखि पुर्पक्षका लागि कारागारमा थिए । कारागारबाट भागे लगत्तै परिवार र पार्टीका नेताहरुको सम्पर्कमा पुगेका लामा प्रशासनको नजरमा फरार छन् । तर उनले नेपाली काँग्रेसको आसन्न केन्द्रिय कमिटीमा पेश गर्ने गरी तयार गरिएको विशेष महाधिबेशन सम्वन्धी हस्ताक्षर अभियानमा भने प्रतिनिधि सभा क्षेत्र नम्वर १ का तर्फबाट पाँचौ नम्वरमा हस्ताक्षर गरेका छन् । यद्यपी क्रमसंख्या नम्वर २ र ४ मा रहेका ब्यक्तिहरुले भने हस्ताक्षर गरेका छैनन । 
हस्ताक्षर भोली २८ गते बस्ने केन्द्रिय समितिको बैठक अगावै दर्ता गर्ने तयारी गरिएको छ । काभ्रेमा हस्ताक्षर अभियानको संयोजक केन्द्रिय सदस्य मधु आचार्यले गरिरहेका छन् ।