सभापति निकटका नेताहरुले नै गरे काँग्रेसको विशेष महाधिबेशन माग्दै काभ्रेमा हस्ताक्षर, को को हुन् हस्ताक्षर गर्नेहरु ?
बनेपा÷केन्द्रिय सभापति शेरबहादुर देउवा निकट रहेका नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामा सहितका नेताहरुले केन्द्रीय महाधिबेशन तत्काल र विशेष हुनु पर्ने भन्दै हस्ताक्षर गरेका छन् । काभ्रेमा प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा १९ र क्षेत्र नम्वर २ मा १६ जना महाधिबेशन प्रतिनिधिले विशेष अधिबेशनको माग गर्दै हस्ताक्षर गरेका छन् । यद्यपी यो संख्या केहि तल माथी हुन सक्ने श्रोतले बतायो ।
क्षेत्र नम्वर १ मा २६ र क्षेत्र नम्वर २ मा २७ जना महाधिबेशन प्रतिनिधि छन् । १४ औ महाधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको चार वर्षे समयावधी आगामी मसिंर महिनामा सकिँदै छ । महाधिबेशनको सुरसार नहुँदै जेनजी आन्दोलनमा पार्टी सभापति शेरबहादुर देउवा घाईते भए पछि अझै सार्वजनिक भएका छैनन । केन्द्रिय समितिले चाहँदा एक वर्ष समयावधी थप्न सक्ने प्रावधान छ । फागुनमा प्रधानमन्त्री पद शेरबहादुर देउवालाई छाड्ने नेकपा एमालेसँगको लिखित सहमतिका कारण पार्टी सभापति शेरबहादुर देउवा आफु प्रधानमन्त्री भए पछि मात्रै १५ औ महाधिबेशन गर्ने योजनामा थिए । त्यहि कारण उनि समयवाधी भित्र महाधिबेशन गर्ने तयारीमा थिएनन् । विशेष महाधिबेशनका लागि ४० प्रतिशत हस्ताक्षर सहित कारण खुलाउनु पर्ने ब्यवस्था छ । काँग्रेस केन्द्रिय समितिको बैठक असोज २६ बोलाईएको थियो । उक्त मितिमा बैठक हुन सकेन उक्त बैठक भोली असोज २८ गते दिउँसो १ बजेका लागि सारिएको छ । बैठक अगावै संकलित हस्ताक्षर केन्द्रिय समिति बैठकमा दर्ता गराउने गरी तयारी गरिएको छ ।
पदाधिकारी तथा कार्य सम्पादन समितिको बैठकले नियमित महाधिबेशन गर्ने निर्णय गरेको अवस्थामा विशेष महाधिबेशनका लागि गरिएको हस्ताक्षर फिर्ता लिने नेताहरुले बताएका छन् । विशेष कि नियमित ? अझै नेताहरु अनिर्णित छन् । तर पनि हस्ताक्षर अभियानलाई तिब्र बनाउँदै केन्द्रिय तहका पार्टी सभापति र निकटका नेताहरुलाई दबाब दिईएको छ । जिल्लामा प्रतिनिधि सभा क्षेत्र नम्वर १ को तर्फबाट महाधिबेशन प्रतिनिधि रहेका २६ मध्ये १९ जनाले हस्ताक्षर गरेका छन् । २ जना प्रतिनिधिको नाम मात्रै राखिएको छ । हस्ताक्षर भएको छैन । हस्ताक्षर गर्नेहरुमा पार्टी सभापति तीर्थ लामा, शंखबुद्ध लामा, चन्द्रबहादुर तामाङ (सिवी) फरार कैदी, हरिबहादुर बल, माधवप्रसाद पन्त, उस्पार सुनार, इश्वरीप्रसाद ओझा (नेपाल प्रेस युनियन), शान्ति लामा, गुणराज मुक्तान, अञ्जु रञ्जित, रोशन तामाङ, जयन्ती हुमागाई, दिनेश लामा, चन्द्रबहादुर लामा (तामाङ), रमिला अधिकारी, दुर्गामाया तामाङ, सार्किमान बल, लक्ष्मी उप्रेति बर्ताैला र राजेश गौतम (ने.लो.बै.रो) रहेका छन् । क्षेत्र नम्वर १ का महाधिबेशन प्रतिनिधिहरु जयन्ती हुमागाई र राजेश गौतमले प्रतिनिधि सभा क्षेत्र नम्वर २ को फाराममा हस्ताक्षर गरेका छन् । पुर्व सांसदद्धय हर्षजित लामा र ललिता किङरिङको नाम राखिएको भए पनि हस्ताक्षर भएको छैन । उक्त क्षेत्रमा रहेका केन्द्रिय सदस्य गणेश लामाले पनि हस्ताक्षर गरेका छैनन ।
प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा केन्द्रिय सदस्य मधुप्रसाद आचार्यले पहिलो नम्वरमा हस्ताक्षर गरेका छन् । केन्द्रिय सदस्य रहेका सोहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने शिवप्रसाद हुमागाईले हस्ताक्षर गरेका छैनन । सभापति पदका प्रत्यासी अच्युतप्रसाद पौडेल, माधवप्रसाद ढकाल, भोला नेपाल, निर्मला श्रेष्ठ, जितेन्द्रमान तामाङ (दावा), शुभलक्ष्मी मानन्धर, मञ्जु शाह ठकुरी, सुन्दर तामाङ, माईली दनुवार, जानुका नेपाल, इन्द्रबहादुर तामाङ, चन्द्रप्रसाद ढकाल, सुनिता तामाङले विशेष महाधिबेशनको पक्षमा हस्ताक्षर गरेका छन् । महाधिबेशन प्रतिनिधिहरु मध्ये केहिलाई धम्कि दिएर, केहिलाई आश्वासन दिएर र केहिको किर्ते हस्ताक्षर गरिएको बताईएको छ । केहि प्रतिनिधि विदेशमा छन् । केहिले हस्ताक्षर गर्न मानेका छैनन । पार्टी उपसभापति रमेशप्रसाद हुमागाईले पार्टी र नेतृत्व संकटमा परेको समयमा पार्टी नेतृत्व विरुद्ध हस्ताक्षर अभियान ठिक नभएको बताएका छन् । ‘हामी नियमित महाधिबेशनको पक्षमा छौ । अवधी भित्र महाधिबेशन गर्न सकिन्छ । केहि महिना तल माथी हुँदा पनि नियमित महाधिबेशन हुनु आवश्यक छ । नियमित महाधिबेशनका लागि हस्ताक्षर आवश्यक छैन’–उप सभापति हुमागाईले भने–‘पार्टी र नेतृत्व संकटमा परेको समयमा हस्ताक्षर अभियानले सहि सन्देश जाँदैन ।’ केहि नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत अवसर र लाभ पाउञ्जेल नेतृत्वसँग नजिक रहेर हसुर्ने र संकटमा अवसरबादी चरित्र देखाउँदै भाग्ने प्रवृत्ति सिंगो पार्टीकै लागि घातक भएको टिप्पणी गरेका छन् । हस्ताक्षर नगर्नेहरुमा केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाई र गणेश लामा, प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, रमेश प्रसाद हुमागाई, महेश खरेल, जिवना बादे, महेश पौडेल, बेल बहादुर लामा, बिक्रम गौतम, बिक्रम लामा, उद्दव प्रसाद कोईराला, मिरा नेपाली, गुमान सि तामाङ लगायत छ्न ।





