नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि बहुमतको समर्थन, ५५ प्रतिशतले गरे हस्ताक्षर
काठमाडौं/ नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। सोमबार साँझसम्म पार्टीका १४औँ महाधिवेशनका प्रतिनिधिमध्ये दुई हजार चार सय उनन्चालीस (२,४३९) जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्।
१४औँ महाधिवेशनमा जम्मा चार हजार सात सय त्रिचालीस (४,७४३) प्रतिनिधि रहेका थिए। यस आधारमा आधाभन्दा बढी अर्थात् करिब ५१ प्रतिशतले विशेष महाधिवेशनको समर्थन गरेका हुन्। हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार, सोमबार साँझ ७ बजेसम्मको तथ्यांकअनुसार २४ सय ३९ हस्ताक्षर प्राप्त भइसकेका छन् र अझै केही प्रतिनिधिहरूको हस्ताक्षर सूचीकृत हुनेक्रम जारी छ। उनका अनुसार, अन्ततः करिब ५५ प्रतिशतले विशेष महाधिवेशनको समर्थन जनाउने अनुमान गरिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रिय पहलमा यो हस्ताक्षर अभियान अघि बढाइएको हो। संकलित हस्ताक्षर मंगलबार पार्टी नेतृत्वलाई बुझाउने तयारी गरिएको छ।
कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकअघि हस्ताक्षर बुझाउने तयारी भइरहेको नेता आचार्यले जानकारी दिए।
पार्टीको विधानअनुसार, महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले लिखित रूपमा माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ। संस्थापन पक्षले मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनमार्फत पार्टीको दिशा निर्धारण गर्नुपर्ने भन्दै थापा र शर्माले हस्ताक्षर अभियानलाई अभियानको रूपमा अघि बढाएका हुन्।






