धुलिखेलमा खेलकुद उत्सव, विभिन्न विधामा ८ सय १४ विद्यार्थीले प्रतिस्पर्धा गर्दै

धुलिखेल नगरपालिकाले उत्सवकै रुपमा खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । २०७६ सालदेखी निरन्तर भइरहेको अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता यो वर्ष पनि सुरु भएको छ ।

सोमबारबाट सुरु भएको प्रतियोगितामा १२ वटा इभेन्टमा ८ सय १४ विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका छन् । अन्तर विद्यालय स्तरीय प्रतियोगितामा आधारभुत तह अन्तर्गत कक्षा ३ र कक्षा ४ का विद्यार्थीले प्रतियोगिताको पहिलो दिन सोमबार विभिन्न विधामा प्रतिस्पर्धा गरेका छन् । यस्तै आज दोस्रो दिन कक्षा ६ देखि ८ का विद्यार्थीले दौड, लङग्जम्प, भाँडा फुटाउने, हाई जम्प लगायतका खेलमा प्रतिस्पर्धा गरेका छन् । भोलि नेपाली सेना सँगको सहकार्यमा मार्चपास हुनेछ ।

यहि असोज ३१ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माध्यमिक तह कक्षा ९–१२ का विद्यार्थीले सहभागीता जनाउनेछन् । धुलिखेल नगरपालिकाका ३८ वटा सामुदायिक र नीजि विद्यालयका ८ सय १४ विद्यार्थी खेलकुद सप्ताहमा सहभागी रहेका शिक्षा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए । उनका अनुसार कक्षा ३ का १ सय ११ जना, कक्षा ४ र ५ का २ सय ९६ जना र कक्षा ६–८ का ४ सय ७ जना विद्यार्थी सहभागी छन् । उत्कृष्ट विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

धुलिखेल नगरपालिकाले सामुदायिक र नीजि विद्यालयलाई एउटै वार्षिक क्यालेन्डरमा समावेश गरेर अतिरिक्त कृयाकलाप सञ्चालन गर्दै आइरहेको छ । नगरका ३८ वटै विद्यालयमा खेलकुद शिक्षक राखिएको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएको बताएका छन् । शारिरिक र मानसिक रुपमा सवल बन्न पनि खेलकुदले सघाउने उनले बताए । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य तथा एन्फा लगायतका सरोकारवाला निकायको सहयोगमा खेलकुद संरचना निर्माण सँगै खेलकुद गतिविधि अघि बढाइएको उनको भनाई छ ।

खेलकुदबाट अनुशासन, आत्मबल र मित्रता बढ्ने भएकाले नगरपालिकाले खेलकुद कार्यक्रमलाई उत्सवकै रुपमा सञ्चालन गरिरहेको शिक्षा शाखा प्रमुख डिकबहादुर राईले बताए । स्वस्थ शरिर तथा मिलेर खेलौं, हाँसेर सिकौं भन्ने भावनाका साथ नगरपालिकाले खेलकुद गतिविधि सञ्चालन गरिरहेको शिक्षा अधिकृत भोजकुमार ठकुरीले बताएका छन् ।