सभामुख घिमिरेलाई दलहरूको सुझाव - ‘रिट लैजाने निर्णयमा पर्ख र हेर’
काठमाडौं /प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेका सभामुख देवराज घिमिरेलाई राजनीतिक दलहरूले ‘पर्ख र हेर’ को सुझाव दिएका छन्।
बुधबार सिंहदरबारमा बोलाइएको बैठकमा सभामुखले दलहरूलाई आफ्नो धारणा पेश गर्न आग्रह गरेका थिए। बैठकमा एमालेका नेता महेश बर्तौलाले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै सर्वोच्चमा जानुपर्ने धारणा राखे।
कांग्रेसका श्याम घिमिरेले संवैधानिक परीक्षण आवश्यक रहेको बताए भने एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सर्वोच्चबाट स्पष्टता लिनुपर्ने सुझाए। माओवादीका हितराज पाण्डेले विघटन संविधानअनुसार नभए पनि परिस्थिति अनुसार भएको बताएका थिए।
राप्रपाका ज्ञानेन्द्र शाहीले भने संसद् पुनर्स्थापना गर्दा अझ ठूलो आन्दोलन हुन सक्ने चेतावनी दिए।
सभामुख घिमिरेले संविधान र संसदीय प्रणालीको रक्षा गर्न आवश्यक कदम चाल्ने बताउँदै, बिहीबार नेपाल बार एशोसिएशनका पदाधिकारी र पूर्व महान्यायाधिवक्तासँग छलफल गर्ने तयारी गरेका छन्।






