चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ कामदारको मृत्यु, २ घाइते
काठमाडौं/चितवनको रत्ननगरमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार बिहान करिब १० बजेतिर रत्ननगर–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किएर पाँच जना कामदार पुरिएका थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिए।
मृतकहरूमा खैरहनी–२ का ४५ वर्षीय शुकराम दराई, रत्ननगर–१२ का ४५ वर्षीय कमल गुरुङ र गोरखा घर भई हाल रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दमाई रहेका छन्।
घाइते हुनेहरूमा पर्सा घर भई हाल रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अन्जकप्रसाद थारू छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।






