काभ्रेबाट माओवादीका युवा–विद्यार्थीको चेतावनीः भ्रामक र तथ्यहीन आरोप लगाएर दमनको प्रयास नहोस्

नेकपा माओवादी केन्द्र निकट युवा विद्यार्थीले राजनीतिक प्रशिशोध राखेर संगठन र नेतृत्व विरुद्ध भ्रामक र तथ्यहीन आरोप नलगाउन चेतावनी दिएका छन् । योङ कम्युनिष्ट लीग नेपाल काभ्रे जिल्ला समिति र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गर्दै उक्त चेतावनी दिएका हुन् ।

वाइसीएल नेपाल काभ्रे जिल्ला इन्चार्ज छिरिङ लामा (पुजारी) र अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विवश तामाङद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जेन्जी आन्दोलन पश्चात् देशलाई अस्थिर पार्ने उद्देश्यका साथ विभिन्न व्यक्ति तथा प्रवृत्तिहरूले आन्दोलनका वास्तविक मागहरूलाई अपहरण गरी भ्रम फैलाउने कार्य गरिरहेको उल्लेख छ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न मिडिया मार्फत् नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल “प्रचण्ड” विरुद्ध घर जलाइँनु अघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाएको भन्ने झूठा, तथ्यहीन र कपोकल्पित, नियोजित प्रचार गरेको भन्दै यस्ता कार्यलाई जनता भड्काउने आपराधिक गतिविधि भनिएको छ । यो आरोप पूर्णरूपमा भ्रामक, तथ्यहीन र राजनीतिक प्रतिशोध राखेर गरिएको ध्यानाकर्षणपत्रमार्फत स्पष्ट पारिएको छ ।

भ्रम फैलाउनेमाथि कारबाही गर्नुको सट्टा वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष लगायत युवा–विद्यार्थी साथीहरू माथि झूठा आरोप लगाई पक्राऊ प्रयास गरिनु निन्दनीय र अन्यायपूर्ण रहेको उनीहरुको तर्क छ । यसले गौरवशाली संगठनमा आवद्ध लाखौं युवा विद्यार्थीहरूको भावना र विश्वासमाथि प्रहार गरेको उनीहरुको ठहर छ ।