कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर
नेपाली कांग्रेसका २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । देशभरबाट सङ्कलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका हुन् ।
बहस्ताक्षर बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता घिमिरेले १४औं महाधिवेशनका कुल प्रतिनिधि सङ्ख्याको झन्डै ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारी दिए।
कांग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।
नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताए । नियमित महाधिवेशनको प्रक्रिया नै शुरू नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाउनुपरेको उनको भनाइ छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनमा आफूले नेतृत्व दाबी नगर्ने घोषणासहित खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।






