संघीय सरकारले पर्याप्त बजेट नपठाए पछि शिर मेमोरियल अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ स्थगित, अस्पतालद्वारा ‘शिर मदर केयर’ कार्यक्रम घोषणा
बनेपा/संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण आर्थिक वर्ष २०८२÷२०८३ बाट आमा सुरक्षा कार्यक्रम संचालन गर्न नसकिने ब्यहोराको पत्र बनेपा नगरपालिकाले शिर मेमोरियल अस्पताललाई पठाए सँगै अस्पतालले २०८२ कार्तिक १ गते देखि उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । साथै अस्पतालले विरामीहरुको सेवालाई सहज र सरल बनाउने उदेश्यले ५० प्रतिशत अनुदान अस्पताल स्वंयले ब्यहोर्ने गरी ‘शिर मदर केयर प्रोगाम’ संचालनमा ल्याएको छ ।
२०६८ सालमा बनेपा नगरपालिका र शिर मेमोरियल अस्पताल बीच द्धिपक्षिय सम्झौता भई संघीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम संचालन हुँदै आएको थियो । उक्त कार्यक्रम मार्फत सुत्केरी हुने महिलाहरुका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, विरामीको तर्फबाट २० प्रतिशत र संघीय सरकारको तर्फबाट ३२ प्रतिशत खर्च ब्यहोर्ने सहमति थियो । जस अन्र्तगत सुत्केरी हुँदाका बखत उपचारमा भएको खर्चमा संघीय सरकारले अस्पतालका लागि अप्रेसन गर्दाका बखत १० हजार र सामान्य अवस्थामा २ हजार ५ सय रुपैया उपलब्ध गराउँदै आएको थियो । विरामीको अवस्था हेरेरे अप्रेसन गर्न २५ देखि २९ हजार र सामान्य अवस्थामा ३ हजार ६ सय देखि ४ हजार रुपैयासम्म खर्च हुँदै आएको थियो ।
‘अस्पतालले आमा सुरक्षा कार्यक्रम स्थगित भए पनि ल्याव टेस्ट, युएसजी र एक्सरे बाहेकका अन्य सेवाहरुमा दिईरहेको ५० प्रतिशत छुट (जनरल वार्डमा सेवा प्राप्त गर्नेहरुका लागि मात्र) र औषधिमा ५ प्रतिशत छुट भने अस्पतालको तर्फबाट उपलब्ध गराउँदै आएकोमा यथावत रहेको छ’–अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले भनिन–‘शुल्क नभएकै कारण सुत्केरी हुन र भए पछि घर फर्कन पर्ने समस्यामा रहेका विरामीहरुको अवस्थामा अस्पतालको च्यारिटी फन्डबाट सेवा उपलब्ध गराईनेछ ।’ बनेपा नगरपालिकाले २०८२ असोज २७ गते अस्पताललाई पत्र लेख्दै तत्कालका लागि कार्तिक १ गते देखि उक्त कार्यक्रम स्थगित गर्न अनुरोध गरेको थियो ।
‘१४ वर्ष लामो समय देखि अस्पताल र नगरपालिका बीचको समझदारीमा संचालन भएको कार्यक्रम स्थगन गर्नु पर्दा हामी दुखी छौं’–अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले भने–‘अस्पतालले आफ्नै ब्यवस्थापनमा विरामीहरुलाई पाउँदै आएको सेवामा केहि सहज महसुस हुने गरी ‘शिर मदर केयर प्रोगाम’ संचालन गर्ने छौं ।’ अस्पतालले उक्त कार्यक्रमका लागि संघीय, प्रदेश तथा स्थानीय सरकार र अन्य निकायबाट समेत बजेट प्राप्त हुने अवस्थामा पुर्ववत अवस्थामा संचालन हुने अस्पतालले जानकारी दिएको छ । चालु आर्थिक वर्षको साउन र भाद्र महिनामा सेवा उपलब्ध गराए बापत १३ लाख ९० हजार रुपैया उपलब्ध गराउन बाँकी छ । डा.हेक्टर गायरसका अनुसार अस्पतालले आमा सुरक्षा कार्यक्रम संचालन भएका बखत पनि आर्थिक वर्ष २०८१÷२०८२ मा मात्रै १ करोड ४० लाख रुपैया च्यारिटीमा उपलब्ध गराएको बताए । अस्पतालले अन्य सेवामा बार्षिक साढे ३ करोड रकम च्यारिटी गरिएको बताए ।
अस्पतालकी वित्त विभाग प्रमुख सुर्यप्रभा शाक्यका अनुसार यो अवधीमा २८ हजार महिलाहरुलाई सुत्केरी सेवा प्रदान गरिएको छ । ‘दैनिक ८–१० जना महिलाहरु सुत्केरीका लागि अस्पताल आईपुग्छन । आर्थिक वर्ष २०८१÷२०८२ मा १ हजार ५ सय ४८ जनाले सेवा पाएका छन्’–शाक्यले भनिन–‘जस मध्ये ७ सय ६७ जना सामान्य र ७ सय ७४ जनाको अप्रेसन गरिएको छ ।’ ९६ लाख ८५ हजार संघीय सरकारले भुक्तानी उपलब्ध गराउनु पर्ने थियो । पहिले २५ प्रतिशत विरामीको मात्रै अप्रेसन गर्नु पर्नेमा हाल ५० प्रतिशत विरामीहरुको अप्रेसन गर्नु पर्ने अवस्था हुन थालेको डा.एन्जिला बस्नेतले बताईन् । कार्यक्रम पुकार श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, अस्पतालका विभागिय प्रमुखहरु, सल्लाहकार तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।






