धुलिखेल नगरपालिकाले गर्यो बार्षिक समिक्षा
धुलिखेल/धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ मा संचालन गरेका वडा तथा नगर स्तरीय नीति योजना तथा कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा आयोजना गरेको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभागिय प्रमुखहरु, वडा सचिवहरु तथा विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा वडा सचिवहरुले वडामा भएका गतिविधिहरुको प्रस्तुतीकरण गरेका थिए भने शाखागत रुपमा भएका गतिविधिहरुको पनि शाखा प्रमुखहरुले गतिविधिहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले नगर क्षेत्रका सबै योजनाहरुको गुणस्तरीयता, नागरिक मैत्री तथा योजनाहरुले पार्ने दिगो प्रभावका बारेमा ध्यान दिन निर्देशन दिए । नगर क्षेत्रमा भएका योजनाहरुको प्रभावकारिता तथा उपभोक्ता सहित नगरबासिहरुको सक्रिय सहभागिताका लागि ध्यान दिन नगर प्रमुख ब्याञ्जुले निर्देशन दिएका थिए । अघिल्ला वर्षहरुको अनुभवका आधारमा चालु वर्षमा विनियोजन भएका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्न नगर प्रमुख ब्याञ्जुले निर्देशन दिए । स्वस्थ शहर, वातावरण तथा पर्यटन, बालमैत्री तथा गरिवी न्यूनिकरण, खानेपानी, पुर्वाधार, सडक तथा अन्य संरचना निर्माणमा दिगोपनाका लागि विशेष ध्यान दिन नगर प्रमुख ब्याञ्जुले अनुरोध गरे । कार्यक्रममा सहभागिहरुले विगतका अभ्यास, समस्या तथा समाधानका लागि नगरपालिकाले खेल्नु पर्ने भूमिकाका बारेमा अनुभव आदान प्रदान गरेका थिए ।
कार्यक्रम शाखा अधिकृत पुजा काफ्लेले सहजिकरण गरेकी थिईन् । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले कर्मचारीहरुलाई गुणस्तर, शुशासन र पारदर्शितामा ध्यान दिन निर्देशन दिए । नागरिकहरुको सेवामा गुनासो नआउने गरी काम गर्न उनले अनुरोध गरेका थिए ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल विनियोजन १ अर्व ७ करोड ३३ लाख २२ हजार भएकोमा ८८ करोड ३७ लाख ८५ हजार खर्च गरी ८२.३३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । जस्मा चालु खर्च ८९.७१ प्रतिशत पूजीगत खर्च ६६.६१ प्रतिशत र वित्तिय व्यवस्था तर्फ ८६.७० प्रतिशत प्रगति हासिल भएको प्रतिवेदन प्रस्तुत भएको छ ।






