वर्कसपको पर्दा पछाडि लागूऔषधको सञ्जाल

नाफाको प्रलोभन देखाउँदै वर्कसप र होटललाई आवरण बनाएर लागूऔषध कारोबारमा तीन सहयोगी पक्राउ परे पनि योजनाकार फरार छन् ।

धुलिखेल/बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ दौडिँदै आएको एउटा सेतो विंगर गाडी बागमती प्रदेश ०३–००१ ज ०७७३ । अचानक प्रहरी चेकपोष्टमा रोकियो । बाहिरबाट साधारण देखिने गाडीको पछाडिबाट जब प्रहरीले तलासी गर्न थाल्यो, केही मिनेटमै रहस्यमय प्याकेटहरू भेटिए । ती प्याकेटमा हजारौं प्रतिबन्धित लागूऔषधका क्याप्सुल र ट्याबलेटहरू थिए ।
गाडीभित्रका यात्रुहरू एक–एक गरी झारिए । त्यस क्षणदेखि सुरु भयो एउटा यस्तो अपराध कथा । जसको मूल योजनाकार थिए, राजकुमार राय, सर्लाही कविलासी नगरपालिका–३ का ३० वर्षीय युवक ।  राजकुमार राय काठमाडौ जडिबुटीमा मोटरसाईकल वर्कसप सञ्चालन गर्छन । उनको हातमा मेकानिकको दक्षता थियो, तर दिमागमा चलिरहेको योजना अर्कै थियो । त्यही वर्कसप मार्फत उनले विभिन्न युवाहरूसँग सम्पर्क बढाए र विस्तारै अवैध कारोबारको जालो बुने । 
प्रहरीका अनुसार, राजकुमार पहिले पनि लागूऔषध कारोबारमा सम्लग्न थिए । २०७९ जेठ ५ गते काठमाडौं जिल्ला अदालतले उनलाई २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर जेलबाट छुटेपछि उनी पुनः पुरानै बाटोमा फर्किए । राजकुमारको वर्कसप नजिकै सानो होटल सञ्चालन हुन्थ्यो, जहाँ मालिक थिए रुपेश भुजेल, रामेछाप मन्थलीका २३ वर्षीय युवक । दैनिक भेटघाटले उनीहरूबीच मित्रता बढ्यो । रुपेशलाई राजकुमारले एउटा प्रस्ताव दिए — “काम सजिलो छ, रिस्क अलिकति छ, तर नाफा असाध्यै मीठो ।”
नाफाको लोभमा परेपछि रुपेश पनि सञ्जालमा तानिए । उनको होटल अब लागूऔषध भण्डारण र ढुवानीको केन्द्र बिन्दु बन्यो । रुपेशको होटलमा नियमित आउने एक युवक थिए हेलकुमार दमाई, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–६ का, पेशाले ज्यामी । आर्थिक कठिनाइले ग्रस्त हेलकुमारलाई पनि राजकुमारको सञ्जालले प्रयोग ग¥यो । उनीलाई आदेश दिइन्थ्यो — “ग्यारेजका राजु दाइका लागि सामान लिनु छ, सोध्नु पर्दैन के हो भनेर ।” तर त्यो सामान लागूऔषध थियो । हेलकुमारले नसोची डेलिभरी लिन गए र अन्ततः प्रहरीको हातमा परे । 
राजकुमारले आफ्नै भाइ राजेश राय (२१ वर्ष) लाई पनि सञ्जालमा जोडेका थिए । उनी ओसारपसारमा प्रत्यक्ष संलग्न हुन्थे । सर्लाही र काठमाडौ बरोबर गर्थे । तर असारको अन्तिम साता उनीहरूको योजना भत्कियो । २०८२ असार २९ गते दिउँसो करिब ३ बजे, धुलिखेल नगरपालिका–९, काभ्रे भन्ज्याङस्थित प्रहरी चेकपोष्टमा प्रहरीले शंकास्पद रुपमा गाडी रोक्छ । राजेश आत्तिन्छन । तलासीमा प्रहरीले २० हजार ९ सय क्याप्सुल, २ हजार ९ सय ५० ट्याबलेट, र १०९ वटा एम्पुल बरामद गर्छ — जसमा डाईजेपाम लगायतका प्रतिबन्धित औषधहरू थिए ।
त्यसपछि प्रहरीले राजेश राय (सर्लाही), रुपेश भुजेल (रामेछाप) र हेलकुमार दमाई (खोटाङ) लाई पक्राउ गर्छ । तर योजनाकार राजकुमार राय भने फरार रहन्छन् ।  पक्राउ परेका हेलकुमारले अनुसन्धानका क्रममा भनेका छन् — “ग्यारेज साहुका भाइ बिरामी भएकाले मोटरसाइकल लिन बोलाएका थिए । म त सामान ल्याउन गएको मात्र थिएँ ।” तर अनुसन्धानपछि प्रहरीको निष्कर्ष थियो — त्यो ‘मोटरसाइकल ल्याउने’ बहानामा नै लागूऔषध ढुवानी गरिएको हो । राजकुमारले सञ्जालको प्रत्येक भूमिकालाई योजनाबद्ध रूपमा बाँडेका थिए । प्रहरीका अनुसार, यो समूहमा अन्य केही व्यक्ति पनि संलग्न छन्, जसको पहिचान गर्न थप अनुसन्धान जारी छ । राजकुमार राय अहिले पनि फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको छ ।  कानुन अनुसार, पहिले नै सजाय पाइसकेका व्यक्तिले दोहो¥याएर सोही अपराध गरेमा दोब्बर सजाय हुने प्रावधान छ । २०८२ असोज २ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरिसकेको छ । तीनै जना पक्राउ परेकालाई अदालतले अनुसन्धान पूरा नभएसम्म थुनामा राख्ने आदेश दिएको छ ।
काभ्रे, काठमाडौं र सर्लाहीबीचको लागूऔषध कारोबार पछिल्ला वर्षमा तीव्र गतिमा बढेको छ । साना होटल, ग्यारेज र पसलहरूलाई आवरण बनाएर युवा र बेरोजगारहरूलाई प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । लागूऔषध नियन्त्रण महाशाखाका अनुसार साना व्यवसायको नाममा ठूला कारोबार लुकेका छन । युवाहरूलाई सजिलो पैसाको प्रलोभन देखाइन्छ, तर त्यसको अन्त्य जेल र बदनामीमा हुन्छ । (यो समाचार चेष्टा साप्ताहिकमा प्रकाशन गरिएको छ )