एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक रामबाघ महलमा सुरु

काठमाडौं / नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ । बिहान ८ बजे सुरु गर्ने भनिए पनि बैठक केही ढिलो प्रारम्भ भएको हो।

आजको बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ।

बुधबार बसेको पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो विचार व्यक्त गरेका थिए भने आज बाँकी सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ। करिब एक सय सदस्यले आज बोल्ने अनुमान गरिएको छ।

यद्यपि, सबै सदस्यहरूले बोल्ने इच्छा व्यक्त गरेकाले भोलि शुक्रबार बैठक सक्ने प्रारम्भिक योजना भए पनि बैठक केही दिन लम्बिन सक्ने संकेत एमाले नेताहरूले दिएका छन्।