फागुन २१ को निर्वाचन तयारीबारे निर्वाचन आयोग आज दलहरूसँग छलफल गर्दै
काठमाडौं/आगामी फागुन २१ गते तय गरिएको आम निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दैछ। छलफल बिहान साढे ११ बजे आयोगको कान्तिपथस्थित कार्यालयमा हुने भएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका सबै दलहरूलाई छलफलमा सहभागी हुन निमन्त्रणा गरिएको छ। आयोगले २९ राजनीतिक दललाई पत्र पठाउँदै पार्टीका प्रमुख वा आधिकारिक प्रतिनिधि पठाउन अनुरोध गरेको छ।
‘निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा कम्तीमा एक जनप्रतिनिधि निर्वाचित भएका दलहरूलाई राय–परामर्शका लागि बोलाइएको हो,’ प्रवक्ता भट्टराईले बताए।
उनका अनुसार आजको छलफलमा आयोगले निर्वाचन तयारीका प्रशासनिक पक्ष र सम्भावित तालिकाबारे दलहरूलाई जानकारी गराउनेछ। साथै, राजनीतिक दलहरूबाट सुझाव र सल्लाह लिने उद्देश्य रहेको उनले बताए।
गत भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनपछि प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते ताजा जनादेशका लागि निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको हो।
यस्तै, निर्वाचनमा सहभागी हुन इच्छुक नयाँ दलहरूले कात्तिक मसान्तभित्र दर्ता प्रक्रिया पूरा गरी प्रमाणपत्र लिनुपर्ने आयोगले जनाएको छ।






