खानीखोला गाउँपालिकाको अपिल– “दीपावलीमा सेतो र रातो माटोले घर लिपौँ, परम्परा जोगाऔँ”

बनेपा/काभ्रेको खानीखोला गाउँपालिकाले आगामी तिहार (भाइटीका) पर्वलाई लक्षित गर्दै घर लिपपोत गर्ने परम्परागत संस्कृतिलाई पुनःजीवित गर्न सबै नागरिकलाई अपिल गरेको छ।

गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङद्वारा जारी अपिलमा हाम्रा पुर्खाले सदियौँदेखि दीपावलीमा सेतो र रातो माटोले घर र आँगन लिप्ने परम्परा पालन गर्दै आएको तर अहिले यो सांस्कृतिक अभ्यास हराउँदै गएको उल्लेख गरिएको छ।

अध्यक्ष थिङले अपिलमार्फत आधुनिकतासँगै गाउँघरमा माटोले घर लिप्ने चलन घट्दै गएको भन्दै यसले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनाएको बताएका छन्। उनका अनुसार, दीपावलीको अवसरमा घरआँगन माटोले लिप्ने चलन केवल धार्मिक वा सौन्दर्यका लागि होइन, सामाजिक एकता र परम्पराको संरक्षणका लागि पनि महत्वपूर्ण छ।

गाउँपालिकाले यस वर्षदेखि हरेक घरमा सेतो र रातो माटो प्रयोग गरेर दीपावली मनाउने अभियान सुरु गर्ने निर्णय गरेको छ। साथै, स्थानीय परम्परा र सांस्कृतिक पहिचान जोगाउन सबै नागरिक, टोल समिति र विद्यालयहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।

अपिलमा भनिएको छ, “सांस्कृतिक पुनरुत्थानका लागि हाम्रा मौलिक सीप र परम्परालाई व्यवहारमा उतारौँ र हाम्रो पहिचान जोगाऔँ।”