काठमाडौ विश्वविद्यालयको शैक्षिक कार्यक्रम, पहुँच र विद्यार्थी संख्यामा उल्लेख्य बृद्धि
धुलिखेल/काठमाडौ विश्वविद्यालयमा शैक्षिक सत्र २०८२/२०८३ का लागि विद्यार्थी भर्ना संख्यामा लक्ष्य भन्दा ४ प्रतिशत धेरै हुने अपेक्षा गरिएको छ । शैक्षिक सत्र २०८१/२०८२ मा भन्दा २० प्रतिशत माथि विद्यार्थी भर्नामा बृद्धिको प्रक्षेपण गरेको विश्वविद्यालयले हालसम्म २१ प्रतिशत र भर्ना कार्यक्रम बन्द हुँदासम्म २४ प्रतिशत बृद्धी हुने अनुमान गरेको छ ।
विश्वविद्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा.अच्युत वाग्लेका अनुसार अघिल्लो शैक्षिक सत्रमा विश्वविद्यालयमा ५ हजार भन्दा बढी विद्यार्थी भर्ना भएका थिए । यो वर्ष उक्त संख्या ६ हजार नाघ्ने छ । विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा, कार्यक्रम विस्तार र देशभरको पहुँच विस्तारलाई यसले प्रतिविम्वित गरेको उपकुलपति वाग्लेले बताए । ‘स्कुल अफ इन्जिनियरिङ्ग र स्कुल अफ साईन्सको स्नातक तहको भर्ना प्रकृया अन्तिम चरणमा छ भने अन्य स्कुलहरुमा स्नातक तथा स्नातकोत्तर भर्ना प्रकृया जारी छ’–उपकुलपति वाग्लेले भने–‘इन्जिनियरिङ्गमा गत वर्षको तुलनामा यो वर्ष ३ सय भन्दा बढी नयाँ विद्यार्थी र विज्ञानमा ९० भन्दा बढी विद्यार्थीले भर्ना पाएका छन् ।’ आर्टस, म्यानेजमेन्ट र एजुकेशनमा गरी ३ सय विद्यार्थी थपिने अपेक्षा गरिएको विश्वविद्यालयले जानकारी दिएको छ ।
मेडिकल साइन्सेजमा राष्ट्रिय चिकित्सा परिषद्को स्वीकृतिका आधारमा ४ सय भन्दा बढी अतिरिक्त सिट थपिने अपेक्षा गरिएको रजिस्ट्रार प्रा.डा.राजिव श्रेष्ठले बताए । विश्वविद्यालयका बहुविषयक कार्यक्रम, शैक्षिक पुर्वाधार सुदृढीकरण र गुणस्तरीय शिक्षाप्रतिको प्रतिवद्धताको परिणाम विश्वविद्यालयमा विद्यार्थी संख्या बृद्धी भएको उनले बताए । छात्रबृत्ति विस्तार, उद्योगसँगको सहकार्य र प्रादेशिक पहुँच कार्यक्रमहरुे विविध र समावेशी विद्यार्थी समुह निर्माणमा सहयोग गरेको विश्वविद्यालयले बताएको छ ।
पत्रकार सम्मेलनमा विदेशी प्राध्यापक नियुक्ति, काठमाडौ विश्वविद्यालयमा सूचना प्रविधि केन्द्रको स्थापना, केयु कनेक्ट मोवाईल एप, सात वटै प्रदेशमा सम्वन्धन तथा छात्रबृत्ति विस्तार लगायतकाका कार्यक्रमहरु विश्वविद्यालयले गरिरहेको उपकुलपति वाग्लेले बताए । लामो समय देखि विवादमा रहँदै आएको विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको सम्वन्ध विश्वसनियता सहित निरन्तर रहने बताए ।






