धुलिखेलमा राष्ट्रपति रनिङ्ग शिल्ड र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता, १५ सय विद्यार्थी प्रतिस्पर्धामा

धुलिखेल/धुलिखेल नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरेको छ । सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालय स्तरीय खेलकुद र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता असोज २७ देखि कार्तिक १ गतेसम्म समापन हुने गरी आयोजना गरिएको हो । विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २७ देखि २९ गतेसम्म र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता असोज ३० देखि कार्तिक १ गतेसम्म संचालन हुनेछ । उप सचिव डिकबहादुर राईका अनुसार धुलिखेल नगरपालिकाले हरेक वर्ष विद्यालय स्तरीय खेलकुद र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ । दुबै प्रतियोगितामा सबै विद्यालयका विद्यार्थीहरुले भाग लिने अवसर पाउने छन् ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख निराजन जंगमले विद्यार्थीहरुलाई मेहनत गर्न, अनुशासित बन्न र जीत हार भन्दा पनि सहभागिता र प्रतिस्पर्धात्मक अवस्थामा सहभागि गराउन अनुरोध गरे । हरेक विद्यार्थीहरुले एउटै विद्यामा सफलता हासिल नगर्न सक्छन तर हरेक ब्यक्ति सहभागिता जनाउन प्रतिस्पर्धात्मक हुनु आवश्यक रहेको उनले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले विद्यार्थीहरुले शिक्षालाई खेलकुदसँग र सिकाई उपलब्धीका रुपमा लिनु पर्ने बताए । समय, अनुशासन र विकासलाई सँगै लैजान विद्यार्थीहरुले खेलकुदलाई प्राथमिकतामा राख्न उनले अनुरोध गरे ।

अध्यक्ष गणेश आचार्यले धुलिखेल नगरपालिकाले सबै विद्यालयका विद्यार्थीहरुलाई समेट्ने गरी आयोजना गरेको विद्यालय स्तरीय तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले बालबालिकाहरुको सर्वाणिङ्ग विकासमा सहज हुने बताए । शाखा अधिकृत विदुर गौतमको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली सेना मेहर गणका गणपति प्रमुख सेनानी झलक सुवेदी, प्रहरी प्रमुख एसपी कोमल शाह, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने लगयतको सहभागिता रहेको थियो ।

विद्यालय स्तरीय प्रतियोगितामा ३८ वटा विद्यालयका ८ सय भन्दा धेरै विद्यार्थी सहभागि थिए भने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २१ वटा विद्यालयका ७ सय भन्दा धेरै विद्यार्थी सहभागि छन् । १४ विद्यामा छात्र र छात्रा अलग अलग प्रतिस्पर्धा गराई खेलहरु विशेषगरी एथलेटिक्स समुहका छन् । भलिबल सहित जिल्ला स्तरमा भने तेक्वान्दोमा समेत प्रतिस्पर्धा हुनेछ । धुलिखेल नगरपालिकाले लगातार तीन वर्ष धेरै विद्यामा उत्कृष्टता हासिल गर्ने विद्यालयलाई चाँदी सहितको शिल्ड प्रदान गरिनेछ । हालसम्म धुलिखेल सञ्जिवनीले २ पटक लगातार शिल्ड प्राप्त गरिसकेको छ । यो वर्ष पनि उत्कृष्टता हासिल ग¥यो भने उसले शिल्ड आफ्नै पोल्टामा पार्नेछ । नगर स्तरमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरु जिल्ला र प्रदेश स्तरमा समेत पुग्ने अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए ।

खेलकुदलाई सिकाईका रुपमा विकास गर्ने र विद्यार्थीलाई आत्म अनुशासन, समय तथा मेहनत गर्न सिकाउने उदेश्यले विदाको समयमा प्रतियोगिताहरु संचालन गरेको नगरपालिकाले जानकारी दिएको छ ।