एबिएम स्कुल एजुकेसन अवार्ड–२०२५ द्वारा सम्मानित
बनेपामा रहेको आदर्श विद्या मन्दिर (एबिएम) स्कुल एजुकेसन अवार्ड–२०२५ बाट सम्मानित भएको छ । नेपालबाट प्रकाशित हुने कलेज रिडर म्यागेजिन र युनिभर्सिटी अफ ग्रिन विसको सहकार्यमा २०२५ मा शिक्षा क्षेत्रमा बालबालिकाहरूको सर्वाङ्गीण सिकाइका लागि निरन्तर रुपमा संलग्नता र सफलता हासिल गरेका विद्यालयहरुलाई विभिन्न सूचकहरूको आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो । काभ्रे जिल्लाबाट २०२५ का लागि समूहगत रुपमा व्यावसायिक शिक्षकहरूद्वारा शिक्षण गर्ने शैक्षिक संस्थाको रुपमा एबिएम कलेज परेको छ।
यही अक्टोबर १३ र १४ मा बेलायतको राजधानी लन्डनमा रहेको युनिभर्सिटी अफ ग्रीनविजले बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा युनिभर्सिटी प्राङ्गणमा भव्य रुपमा कलेजका प्रतिनिधि भाइस प्रिन्सिपल ललिता बन्जारालाई उक्त एजुकेसन अवार्ड प्रदान गरेका छन्।
कार्यक्रममा नेपालभरिबाट उच्च शिक्षा प्रदान गर्ने ८७ वटा संस्थाहरूको सहभागिता थियो भने गत वर्ष पनि एबिएम कलेजले अस्ट्रेलियाको राजधानी क्यानबेरामा विद्यार्थीहरूको सिकाइलाई उपलब्धिमूलक बनाउन समूहगत रूपमा निरन्तर सिकाइलाई ख्यातिमूलक बनाउन गरेको सम्मान स्वरूप २०२४ मा सम्मान गरिएको थियो। यस वर्ष भने बेलायतको राजधानी लन्डनमा रहेको युनिभर्सिटी अफ ग्रीनविच बाट उच्च माध्यमिक शिक्षामा सर्वपक्ष गुणस्तरीय र व्यावहारिक शिक्षामा आबद्धता र निरन्तरता सहित यो अवार्ड प्राप्त गरेको छ ।






