जेनजीहरूलाई राष्ट्रपतिको आग्रह–निर्वाचनलाई सफल पार्दै इतिहास रच्नुस्

by | अशोज ३०, २०८२

जेनजीहरूलाई राष्ट्रपतिको आग्रह–निर्वाचनलाई सफल पार्दै इतिहास रच्नुस्

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा निर्वाचनलाई सफल पार्न आग्रह गरेका हुन् ।

उनले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्दै यो चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभएपनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितीमा सरकारलाई समेत सहभागि गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागका बारेमा सरकारले ध्यान दिने स्पष्ट पारे ।

उनले भ्रष्टचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धीका रुपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रर्वधन गर्ने अधिकार प्रयोग गरेर यो अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै यसलाई आन्दोलनको सफलताको रुपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे ।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए । बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।