काठमाडौ विश्वविद्यालयमा विदेशी विद्यार्थी र विदेशी प्राध्यापकको बढ्यो आर्कषण, छिमेकी देश चीनका मात्रै ५० विद्यार्थी अध्ययन गर्दै
धुलिखेल/काठमाडौ विश्वविद्यालयमा अध्ययन र अध्यापन गराउन विदेशी विद्यार्थी र प्राध्यापकहरुको आर्कषण बढेको तथ्यांक सार्वजनिक भएको छ । विशेषगरी छिमेकी देश चीनबाट मात्रै चालु शैक्षिक सत्रका लागि ५० जना विद्यार्थी भर्ना भएका छन् । विभिन्न विषयमा अध्ययनका लागि भर्ना भएका अन्य देशका विद्यार्थीहरुको तुलनामा चीनका धेरै हुन् ।
विश्वविद्यालयले ३३ प्रतिशत विदेशी विद्यार्थीहरु भर्ना गर्ने योजना अनुसार विभिन्न विद्यामा प्रथामिकताका साथ विद्यार्थी भर्ना अभियान तिब्र बनाईएको उपकुलपति प्रा.डा.अच्युत वाग्लेले बताए । एमविविएस अध्ययनका लागि ४२ जना विदेशी विद्यार्थी भर्ना गर्ने गरी विभिन्न कार्यक्रमहरु मार्फत तयारी गरिएको उनले बताए । एमविविएस अध्ययन गर्न विदेशी विद्यार्थी यति धेरै भर्ना गर्ने वातावरण निर्माण गर्न विश्वविद्यालयको डिन कार्यालय समेत सक्रिय रहेको छ । शिक्षाको अन्तराष्ट्रियकरण गर्ने विश्वविद्यालयको शुरु देखि नै जोड दिदै आएको छ । हालसम्म ५५ देशका ५ हजार ६ सय ६० विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भएका छन् । साथै ४१ देशका २९० भन्दा बढी अन्तराष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संस्थाहरुसँग विश्वविद्यालयको सहकार्य रहेको छ ।
विश्वविद्यालयले २०२५ जुलाईमा कम्तीमा एक सत्रका लागि विश्वविद्यालयमा नै उपस्थित भई अध्यापन गर्न इच्छुक विदेशी प्राध्यापकहरुबाट अभिरुची आब्हान गरेको थियो । काठमाडौ विश्वविद्यालयले काठमाडौ विश्वविद्यालय अन्र्तगतका विभिन्न विद्यालयमा अध्यापन गराउन विदेशी प्राध्यापकलाई गरेको आब्हानमा सहभागि मध्ये ४ सय ५० जनाले अनुमति पाएका छन् । उनिहरुलाई नेपालका विभिन्न विद्यालयमा विभिन्न विषयमा अध्यापनका लागि एक सेमेस्टरको नियुक्ति दिईनेछ । उक्त अवधीमा उनिहरुले पाउने सेवा सुविधा नेपाली प्राध्यापक सरह हुनेछ । ताईवान, भारत, अेमरिका, चीन, दक्षिण कोरिया लगायतका देशका प्राध्यापकहरुले अध्यापन गर्ने भएका छन् ।
विश्वविद्यालयको गुणस्तर र विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन विदेशी प्राध्यापकहरुलाई समेत नेपालमा आब्हान गरिएको उपकुलपति वाग्लेले बताए । काठमाडौ विश्वविद्यालय विश्वमा भएका विश्वविद्यालयहरु मध्ये ७०१ नम्वरमा छ ।





