धुलिखेल अस्पतालमा ‘रजोनिवृत्ति सप्ताह २०२५’ समापन

धुलिखेल/धुलिखेल अस्पतालको प्रसूति तथा स्त्री रोग विभागले अक्टोबर १२ देखि १७ अर्थात २०८२ असोज २६ देखि ३१ सम्म आयोजना गरेको रजोनिवृत्ति सप्ताह २०२५ समापन गरेको छ । तर यो परीक्षण अस्पताल खुलेको समयमा हरेक दिन विशेषज्ञ चिकित्सकबाट नियमित उपलब्ध हुनेछ ।

महिलाहरुमा महिनावारी सुक्ने र सुकिसकेको अवस्थामा उत्पन्न हुने समस्या, समाधान तथा उपचारका बारेमा सप्ताह अवधी भर जानकारी गराईएको थियो । सप्ताह भरि, महिलाहरूले क्लिनिकल परीक्षण, अनुसन्धान, परामर्श र उनीहरूको आवश्यकता अनुसारको उपचार उपलब्ध गराईएको थियो । कार्यक्रममा रजोनिवृत्ति र महिला स्वास्थ्यको बारेमा जागरूकता बढाउन र खुल्ला कुराकानीलाई प्रोत्साहित गर्न अनुभव साझेदारी र शैक्षिक सत्रहरू पनि समावेश थिए ।

अस्पतालका मेडिकल डाईरेक्टर डा.बलराम मल्लले कार्यक्रम समापन गर्दै धुलिखेल अस्पतालको प्राथमिकतामा रहेको उक्त कार्यक्रमले निरन्तर महिलाहरुको स्वास्थ्यमा ध्यान दिने बताए । धुलिखेल अस्पताल जीवनको हरेक चरणमा समग्र हेरचाह प्रवद्र्धन र महिलाहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको उनले बताए ।

नियमित उपचार सेवा प्रदान गरिरहेको मेनोपजलाई थप सहज र सरलिकृत गर्ने उदेश्यले विश्व मेनोपज दिवसका अवसरमा उक्त क्लिनिक संचालन गरिएको विभागिय प्रमुख एवं स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा.आभा श्रेष्ठले बताईन् । ‘महिनावारी सुक्न लागेका वा सुकिसकेका महिलाहरुका लागि आवश्यक पर्ने सेवा, उनिहरुमा आउने परिवर्तन तथा समस्या, उपचार र न्यूनिकरणका बारेमा जानकारी गराएका छौं’–डा.आभा श्रेष्ठले भनिन–‘धुलिखेल अस्पतालले मेनोपज क्लिनिक शुरु गरेका कारण महिलाहरुलाई महिनावारी रोकिएपछि हुने परिवर्तनहरु बुझ्न र सजिलै पार गर्न सहयोग पुगेको छ । क्लिनिकमा महिलाहरुले आवश्यक स्वास्थ्य परिक्षण, उपचार र सल्लाह प्राप्त गरे । सहभागि महिलाहरुले जीवनको नयाँ चरण आत्मविश्वासका साथ विताउन सहयोगी बनेको बताए ।’

हरेक महिलाले मेनोपजलाई सामान्य जीवनको हिस्सा जस्तो स्वीकार गर्न सकुन भन्ने मुख्य उदेश्य रहेको विशेषज्ञ डा.सुमिस्ति शाक्यले बताईन् । ‘महिलाले सहि जानकारी र सहयोग पाउने वातावरण बनाउने क्लिनिकको मुख्य लक्ष्य हो’–डा.शाक्यले भनिन–‘ग्रामिण तथा शहरी क्षेत्रका सबै महिलाहरुलाई सहज सेवा उपलब्ध गराउन, मेनोपजका बारेमा खुलेर कुरा गर्न सक्ने समाज बनाउन, महिलालाई शारिरिक र मानसिक रुपमा बलिया बनाउन, दीर्घकालसम्म सबै महिलाको स्वास्थ्य र सम्मानलाई महत्व दिने लक्ष्य लिएका छौं ।’ क्लिनिकमा मेनोपजसम्वन्धी स्वास्थ्य जाँच र परामर्श, हर्माेन सम्वन्धी समस्या पहिचान र ब्यवस्थापन, हर्माेन रिप्लेसमेन्ट थेरापी सम्वन्धी जानकारी र उपचार, मानसिक स्वास्थ्य तथा निद्रा समस्या सल्लाह, यौन स्वास्थ्य सम्वन्धी सहायता, जीवनशैली परिवर्तन सल्लाह उपलब्ध गराईएको थियो । जसमा आहार, विहार, ब्यायाम, तनाव नियन्त्रणसँग सम्वन्धित विषय थिए ।

मेनोपज प्रारम्भिक परिक्षणमा ब्लड प्रेसर, तौल मापन, हर्माेन परीक्षण तथा थाईराईडको समेत परीक्षण गरिएको थियो । हड्डी स्वास्थ्य परीक्षण सम्वन्धी क्याल्सियम र भिटामिन डि परीक्षण गरिएको थियो । समग्र स्वास्थ्य मुल्यांकन प्याकेजमा रक्त परीक्षण हुनेछ । जसमा सिविसि, लिपिड प्रोफाईल, ग्लुकोज, आरएफटी, ईसिजी, मेमोग्राफी हुनेछ । स्त्रीरोग परीक्षणमा स्वास्थ्य इतिहासका जानकारी लिईएको थियो । जसमा महिनावारी, लक्षणहरु, यौन स्वास्थ्य सम्वन्धी विषय हुनेछन् भने पेटको तल भागको शारीरिक जाँच, स्तन र योनिको भित्री भागको जाँच गरिएको थियो । संक्रमण, रक्तश्राव र असामान्य लक्षणको मुल्यांकन हुनेछ । सहभागिहरुले महिनावारी सुक्ने क्रममा र सुकिसके पछिको अवस्था, समस्या र समाधानका उपायहरुका बारेमा जिज्ञासा राखेका थिए ।

स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा.आभा श्रेष्ठका अनुसार मेनोपजका लक्षणहरु बुझ्न, यौन अंङ्गहरुमा कुनै परिवर्तन, संक्रमण वा रोगको प्रारम्भिक पहिचान गर्न, स्वास्थ्य समस्याहरुको रोकथाम वा चाँडै उपचार गर्न मेनोपज क्लिनिक वा नियमित परिक्षण गर्न आवश्यक छ । क्लिनिकमा गोपनियता र सम्मानका साथ अनुभवी चिकित्सकहरुद्वारा परीक्षण गरिने डा.सुमिस्ति शाक्यले बताईन् ।