काठमाडौ विश्वविद्यालय सात वटै प्रदेशमा विस्तार, ८८ वटा शिक्षण संस्थाले बुझाए आशयपत्र
धुलिखेल/ गुणस्तरीय र उच्च शिक्षाको पहुँच विस्तार र सहकार्यद्वारा शैक्षिक उत्कृष्टता प्रर्वद्धन गरिरहेको काठमाडौ विश्वविद्यालयले सात वटै प्रदेशमा सम्वन्धन तथा छात्रबृत्ति विस्तार शुरु गरेको छ ।
विश्वविद्यालयले स्नातक कार्यक्रमहरुमा सम्वन्धन प्रकृया शुरु गरेको रजिस्ट्रार डा.राजिव श्रेष्ठले बताए । विश्वविद्यालयले पारदर्शी रुपले सम्वन्धन दिने उदेश्यले सार्वजनिक गरेको सूचनाका आधारमा आशयपत्र आब्हान गर्दा देशभरका विभिन्न शिक्षण संस्थाबाट ८८ वटा आशयपत्र प्राप्त भएका छन् । विश्वविद्यालयको कार्यक्रम विस्तार नीति अनुसार सञ्चालन गरिएको सम्वन्धन प्रकृयामा पूर्वाधार, शैक्षिक जनशक्ति, वित्तीय सुदृढता, प्रस्तावित कार्यक्रमको स्पस्टता, प्रादेशिक प्रतिनिधित्व र स्वमुल्यांकन जस्ता मापदण्डहरुका आधारमा मुल्यांकन गरिएको उपकुलपति प्रा.डा.अच्युत वाग्लेले जानकारी दिए ।
स्कुल अफ आर्ट्स र स्कुल अफ एजुकेशन अन्तर्गत जम्मा १० वटा शिक्षण संस्थालाई सम्वन्धन उपलब्ध गराईएको छ । स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ म्यानेजमेन्ट अन्र्तगतका सम्वन्धनका कार्यक्रमहरुको मुल्यांकन जारी रहेको विश्वविद्यालयले जानकारी दिएको छ । विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि सातै प्रदेशमा छात्रबृत्ति कार्यक्रम विस्तार गरेको छ । प्रत्येक प्रदेशका ६ जना उत्कृष्ट कक्षा १२ का विद्यार्थीहरु १ सय प्रतिशत शुल्क छुट पाउनेछन् ।
उपकुलपतिद्वारा प्रस्तावित नीति अन्र्तगत यो कार्यक्रम रजिस्ट्रारको कार्यालयको नेतृत्वमा कार्यान्वन भईरहेको छ । केन्द्रीय कार्यालय, स्कुल अफ साइन्स र इन्जिनियरिङका टिमहरु संलग्न छन् । कार्यक्रमको आवेदन र छनौट प्रकृया सम्वन्धित प्रदेशका मन्त्रालयहरुसँगको सहकार्यमा सम्पन्न हुँदै गरेको विश्वविद्यालयले जानकारी दिएको छ । कोशी, बागमती, लुम्विनी, कर्णाली र सुदुरपश्चिचमा प्रदेशका सामाजिक विकास मन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सहयोग गरिरहेको छ ।





