‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन, छानविन गर्नुस्’ : ओली
काठमाडौँ/ निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुनः माग गरेका छन्।
पत्रकार सम्मेलनमार्फत ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटक पटक आह्वान गरेको भन्दै पत्रकार महासंघले गरे पनि हुने बताएका हुन्।
‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन। छानबिन गर्नुस् भनेको भन्यै छु। अरूको नसके मेरो मात्रै गरे पनि हुन्छ,’ ओलीले भने, ‘पत्रकार महासंघले गरे पनि हुन्छ, सम्पादक मण्डलले मेरो सम्पत्तिको छानबिन गरे हुन्छ।’
मेरो घरको डढेको खरानीको कणकण तपाईँहरूले हिसाब गर्नुपर्ने हुन्छ।
सरकारले खाता रोक्का गर्न गरेको निर्णयप्रति लक्षित गर्दै उनले भने, ‘खाता रोक्का गर्ने भनेको पनि सुन्छु। मैले सांसद र प्रधानमन्त्रीका हैसियतले पाएको अहिलेसम्मको जम्मा गरेर २०, २५ लाख रुपैयाँ खातामा होला, त्यो त एक छिनमा हिसाब गरे थाहा हुन्छ। बैंकले हिसाब दिइहाल्छ। विश्वभरिका सरकारलाई सूचना जारी गरेर ओलीको सम्पत्ति पटाइदेऊ भने भो, होला नि उपायहरू त।’
उनले आफू आक्रोश र आवेगमा भन्दा सत्य स्थापना होस् भनेर भनिरहेको बताए। ‘मैले पनि माग गरेको छु, केन्द्रीय कमिटीको बैठकले पनि सम्पत्ति छानबिनको माग गरेको छ,’ उनले थपे, ‘म त भन्छु बिचौलिया, ब्ल्याकमेलरको पनि गरौँ। अरूको पनि गरौँ, सबैको गरौँ। देश मेरो मात्र होइन, सदाचार नै चाहिएको हो भने शंका लागेका सबैको गरे भो नि।’






