काभ्रेमा राति साढे ९ बजेपछि देउसी–भैलो खेल्न रोक
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले देउसी भैलोका कार्यक्रमहरु राति ९ः३० बजे पछि संचालन नगर्न अनुरोध गरेको छ । आज एक सुचना जारी गर्दै कार्यालयले ऐतिहासिक महत्व बोकेका सांस्कृतिक गौरवका चाडपर्वहरु सामाजिक सदभाव र भाईचारा कायम गर्दै शान्तिपूर्ण रुपले मनाउन आग्रह गरेको छ ।
शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा हो–हल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानून विपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, बिक्री वितरण गर्ने जस्ता कार्य नगर्न÷नगराउन अनुरोध गरिएको छ ।
कानूनले निषेध गरेका यस्ता गतिविधि गरे र गराएमा कानून बमोजिम कारवाही हुने कार्यालयले जनाएको छ । साथै, देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न पनि भनिएको छ ।
सूचनामा उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गरे र गराएको पाईएमा नजिकैको प्रहरी चौकि वा जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका सूचना अधिकारीको मोवाइल नं. ९८५१२३७३३९ मा सम्पर्क गरी जानकारी गराउनु हुन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।






