तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार
काठमाडौँ / तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन्।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए।
वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।
नरक चतुर्दशी: पाप नाश र शुद्धीकरणको प्रतीक दिवस
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन बिहानै तैलाभ्याङ्ग स्नान गर्ने विधि पुराणमा वर्णित छ । उज्यालो हुनुअघि तिलको तेल, सुगन्धित द्रव्य र चन्दन शरीरमा दलेर स्नान गर्दा नरकबाट मुक्ति प्राप्त हुने विश्वास गरिएको छ । तिलमा लक्ष्मी र जलमा गङ्गाको वास हुने भएकाले तिलयुक्त स्नानले पाप नाश हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
स्नान अघि अपमार्ग वनस्पति जलमा डुबाएर शिरमा घुमाउने चलन छ । यस क्रममा मन्त्र पढ्दै “मेरा सबै पाप हटून्” भन्ने भावनासहित निम्न मन्त्र उच्चारण गरिन्छ–
सीतालोष्टसमायुक्तः सकण्टकदलान्वित ।
हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुन ॥
स्नान पछि दक्षिण दिशातर्फ फर्किएर यमराजका १४ नाम उच्चारण गर्दै तिलयुक्त जलले तर्पण गर्ने –
१. यमाय नमः २. धर्मराजाय नमः ३. मृत्यवे नमः ४. अन्तकाय नमः ५. वैवस्वताय नमः ६. कालाय नमः ७. सर्वभूताक्षाय नमः ८. औदुम्बराय नमः ९. दन्धाय नमः १०. नीलाय नमः ११. परेमेष्ठिने नमः १२. वृकोदराय नमः १३. चित्राय नमः १४. चित्रगुप्ताय नमः ।
यसरी तर्पण गरे वर्षौंदेखिका पाप नष्ट हुने विश्वास छ । आजको दिन मासको पातको साग खाने चलन छ, जसले पाप नाश गर्छ भन्ने जनश्रुति छ । साथै ‘नर्के नुहाउने’ अर्थात् शुद्धीकरण स्नान, दीप दान र आलसको बोट बालेर आगो ताप्ने प्रचलन पनि रहेको छ । यसो गर्दा आत्मा शुद्ध भई स्वर्ग प्राप्त हुने धार्मिक विश्वास गरिएको छ ।





