कविता: लक्ष्मी पूजा

रुपैयाँ नै हुँदो रहेछ कतिपय समस्याको असली कारण,
दौलतले नै गर्नेरहेछ हाम्रो यहाँ धेरै समस्याको निवारण,
पैसा र स्रोतसाधनलाई मान्ने गरिन्छ यहाँ लक्ष्मीकोरुप,
उपासनाले लक्ष्मी खुशी गराएमात्र घरमा धन वर्षन्छ खुब,

आर्थिक सङ्कट भोग्नु परेको व्यक्ति समुह र राष्ट्रलेसमेत,
असफल राष्ट्र भनि चिनियौला है अझै ध्यान दिएनौ भनेत,
दीपावलीमा मात्र हैन हरेक दिन लक्ष्मीको पुजन गर्न लागौं,
मिनेट मिनेटको महत्व छ खेर नफालौ सबै हामी जागौं,

श्रमको अक्षता सिपको पुष्प अनि पसिनाको यो जलैले
गरौं लक्ष्मीको पुजा उपासना स्वतस्फूर्त हुंदै यहीँनै सबैले,
लेपन गर्दै अनुशासनको सुगन्धी त्यो दिव्य केशरीचन्दन,
सुकर्मको अगरवत्ती घुमाउंदै गरौं यहाँ लक्ष्मीजीको वन्दना,

मीतव्ययी बनौं सबै बचाउनुलाई पनि कमाउनुनै हो ठान्दै,
मौकामामात्र हिरा फोर्नुपर्छ भन्ने पूर्वजको उक्तिलाई मान्दै,
उत्पादन बढाऔं कृषी उपज अनि जडीवुटी वनपैदावरको पनि,
भएकै स्रोतसाधनलाई परिचालन गरेर नै बन्न सक्छौं हामी धनी,

विलासी जीवन शैली बन्द गरौं अनि सबैले फजुल खर्च घटाऔं,
आफुलेमात्र पालना गर्ने होईन सरकारहरुलाई पनि घच्घच्याऔं,
श्रमिकहरुले आफ्नो ऊर्जाको उच्चतम प्रयोग गरी लक्ष्मीको पुजन,
गरौं बढोत्तरी सिल्पी र किसानहरुले समेत आआफ्नो त्यो उत्पादन,

बाँझो नराखी कृषीयोग्य जमिन किसान वन्धु खनीखोस्री पुजा गरौं,
आयात घटाई निर्यात बढाउन ढीलो भइसक्यो अहिल्यै अगाडि सरौं,
पेसागत धर्म सबै पेसाको हुन्छ सोको पालना गर्नुपर्छ ईमान्दार बनी,
सत्कर्म गरौं त सबैले दिनदिनै चिनिन्छौं लक्ष्मीको सच्चा पुजारी भनि,

कामचोर र भ्रष्टाचारीले लक्ष्मी मातालाई रिझाउने चलन यो हट्नु पर्छ,
पसिना र विवेकको प्रयोगकर्तालेमात्र ती विष्णुप्रियाको साथ पाउनुपर्छ,
परमुखापेक्षी भयौं हामी आफ्नो वलवुत्तालाई कत्ती चिन्दै नचिनीकन,
अझै पनि हाम्रा आँखा नखुल्ने हो भने वाध्य छौं पराई दाशभै बाँचन,

मोवाईलमा घोत्लिन कम गरौं थालौं श्रमपूर्ण सक्रिय जीवन विताउन,
ढीलो भइसक्यो यहाँ आफ्ना सन्ततिहरुलाई पनि यहीकुरो सिकाउन,
सचेतनापूर्वक विवेकको पुजा सामाग्रीले अव पुजाथाली सबैले भरौं,
जाँगर अनि ईमान्दारीका साथ सत्कर्म गरेर दिनहुँ लक्ष्मी पुजा गरौं।
शुभ दीपावली तथा लक्ष्मी पुजाको हार्दिक शुभकामना।
भोला के.सी.(भट्टराई),बनेपा,बुडोल
२०८२/०७/०३