तिहार हाम्रो मौलिक पर्व
दसैं गयो तिहार आयो उमङ्ग बोकेर,
आँगन घर पारियो सफा लिप्पोत गरेर,
भयो नि फेरि गाउँ र घर चहलपहल,
झिल्मिल भए बाटा र घाटा बजार सहर,
देखिन्छ भिड बजारभरि ग्राहक बढेका,
मसला पान बिमिरो किन्न आतुर रहेका,
फूलका माला सुन्दर पारी पसल सजेका,
श्री लक्ष्मी अनि भाइको पुजा सामग्री भरेका,
श्रध्दाको पर्व पुजन गर्ने काग र कुकुर,
बयल पनि पुजिन्छ यहाँ गुन त्यो सम्झेर,
लक्ष्मीको रुप गौमाता पनि श्रध्दाले पुजेर
पुजाका योग्य प्राणी ती धेरै भएको बुझेर,
भोजन मिठो दिएर खान गरिन्छ पुजन,
पञ्चकै भरि ती यमजीको गरेर स्मरण,
झिलि र मिली दीपक ताँती चौतर्फी उज्यालो,
रङ्गोली रची गृहस्थ गर्ने पुजन लक्ष्मीको,
मसला पान मिठाई फल अर्पण गरेर,
पारिन्छ खुशी श्री लक्ष्मीलाई श्रध्दा त्यो भरेर,
भैलिनी अनि देउसे आई नाच्गान गर्दछन्,
प्रेमले सिधा अर्पिनेलाई आशिष भर्दछन्,
बलिको कथा यमुना(यम जोडेर प्रसङ्ग,
मौलिक हाम्रो सङ्गीत सुन्दा आउँछ आनन्द,
नेवार वन्धू म्हपुजा गर्छन् शास्त्रीय विधिले,
अन्तिम दिन भाईको पुजा बैनी र दिदीले,
दीर्घायु रहुन् ती दाजु भाइ कामना राखेर,
प्रार्थना गर्ने यमजीसित घरमा डाकेर,
आपसी प्रेम सद्भाव यहाँ दिदी र भाइको,
झल्कने खुबै स्नेहको चाड तिहार पर्व हो,
लक्ष्मीले सधैं गरुन् है बास घरमा सबैका,
अभाव हटोस् तनाव पनि आफन्त जनका,
यो दीपावली पर्वको आज छ शुभकामना,
मङ्गलभाव गरौँन हामी आदानप्रदान।
(दीपावली २०८२ तथा नेपाल सम्वत ११४६ को
पावन अवसरमा सबैमा हार्दिक शुभकामना।)
भोला के.सी.(भट्टराई), बनेपा,बुडोल






