यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने एमालेको आशंका
सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा नेताहरूले पालैपालो धारणा राखेका थिए । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राखेका छन् । नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन । छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत सहभागी थिए त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली छन् । प्रधानमन्त्रीको सचिवालयले नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी भएको जानकारी दिएको छ। जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी छन्।





