ट्रम्पले दिए प्रकाशको पर्व दिपावलीका शुभकामना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिपावली मनाइरहेका सबैलाई शुभकामना दिएका छन्। उनले यस पर्वलाई अन्धकारमाथि प्रकाश र खराबीमाथि भलाइको विजयको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
सन्देशमा ट्रम्पले भनेका छन्, “आज, म प्रकाशको पर्व दिपावली मनाइरहेका प्रत्येक अमेरिकीलाई आफ्नो हार्दिक शुभकामना पठाउँछु।”
उनका अनुसार, दिपावलीले परिवार र साथीहरूलाई एकसाथ ल्याउने, समुदायबीच एकता र आशाको भावना जगाउने अवसर प्रदान गर्छ।
ट्रम्पले भने, “लाखौँ नागरिकले दियो र लालटिन बाल्दा, हामी भलाइले सधैं खराबीमाथि विजय पाउने शाश्वत सत्यमा रमाउँछौँ।”
पर्व मनाउने सबैप्रति शान्ति र समृद्धिको कामना गर्दै उनले थपे, “यो उत्सवले चिरस्थायी शान्ति, समृद्धि, आशा र अमनचैन ल्याओस्।”
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व दिपावली अन्धकारमाथि प्रकाशको विजयको प्रतीकका रूपमा मनाइन्छ। सोमबार लाखौँ भारतीयहरूले दियो र बत्ती बाल्दै यो पर्व उल्लासपूर्वक मनाएका थिए।
यस अवसरमा राष्ट्रपति ट्रम्पले भारतीय समुदायलाई शुभकामना दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीको पनि उल्लेख गरेका छन्।- मनी कन्ट्रोलडटकम






