यसपालि भाइटीकाको उत्तम साइत ११:३९ बजे

काठमाडौँ / यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।

‘बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.देवमणि भट्टराई भन्छन् ।

यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ। समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चांगकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चांग (पात्रो) मा उल्लेख गरेका छन्।

यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ ।