मन्त्रीहरू सुध्रिएनन् भने सरकारलाई महँगो पर्छ : शंकर पोखरेल
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि पोखरेलले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको अडान स्पष्ट पार्दै महासचिव पोखरेलले सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । उनले मुख्य राजनीतिक दलहरूलाई पाखा लगाएर गरिने कुनै पनि निर्वाचनले राजनीतिक वैधता प्राप्त गर्न नसक्ने चेतावनी पनि दिएका छन् ।
पोखरेलले भनेका छन्, ‘राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध पुर्याउन खोज्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट भएको देखिँदैन ।’ उनले कतिपय समूहहरू समानान्तर सत्ता सञ्चालन गर्नेजस्ता गतिविधिमा सक्रिय रहेको र यस्तो अवस्थाको नियन्त्रण अनिवार्य रहेको औंल्याए ।
‘सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्छ,’ पोखरेलले थपे, ‘तर, अहिलेका केही मन्त्रीहरू त्यसको ठीक विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ ।’






