भाइ टीकाको आशामा तुषारापात भएको दिन: तिहारको विचमा विपिनको अन्त्यष्टि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको त्यो सपनाको साँझ कल्पिंदा भतभती हृदय पोल्छ । उत्साह, उमंग र नयाँ सपनाका साथ विपिन जोशी र उनका साथीहरू इजरायलको यात्रामा निस्किँदै थिए । काँधमा ब्याग, निधारमा टीका, अनुहारमा मुस्कान अनि भविष्यप्रतिको आशा झल्किएको थियो । त्यो मुस्कानले परिवारको मनमा पनि नयाँ भरोसा जगाएको थियो की अब हाम्रो छोरा परदेशमा उज्यालो खोज्नेछ, सफल भएर फर्किनेछ । तर नियतिले त्यो मुस्कान सधैंका लागि खोस्यो । इजरायलमा उनले भोग्नुपरेको पीडा, युद्धको कहर र अन्ततः नफर्किने अवस्थाले केवल उनको परिवार मात्र होइन, सिंगो राष्ट्रको मन रोइरहेको छ ।

नेपालका हजारौं युवाहरूले विपिनजस्तै सपना बोकेर विदेशको बाटो समाउने गर्छन् । पढाइ, रोजगारी, र उज्यालो भविष्यका खोजमा । तर ती मध्ये कति फर्किन्छन् कति फर्किँदा पनि शरीर मात्र आउँछ, सपना त परदेशमै चकनाचुर भइसकेको हुन्छ । विपिनको यात्रा अब स्मृतिमा मात्र बाँकी छ । उनले बोकेका आशाहरू, परिवारका अपेक्षाहरू र देशले दिएको विदाई सबै अधुरा बन्न पुगे । यो केवल एक विपिनको कथा होइन, यो कथा हो हजारौं नेपाली युवाहरूको, जसले आफ्नो माटो छोडेर परदेशमा पसिना बगाउँछन् र कहिलेकाहीँ सधैंका लागि त्यही माटोमा हराउँछन् ।
कल्पना गर्छु, यदि विपीन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पूरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपीनको सकुशल रिहाइको प्रतिक्षामा बसेका नेपालीले एक हप्ताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो । हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीको आज बिहान महाकाली नदीमा रहेको भुजेलाघाटमा अन्त्येष्टि भएको छ । जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । त्यसपछि सशस्त्र प्रहरी बलको एक टुकुडीले विपीनलाई सलामी अर्पण ग¥यो ।
इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल–हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपीनको हत्या गरेको हो । विपीन जीवित नरहेकोबारे जानकारी गएको असोजको अन्तिम हप्ता मात्रै हमासले सार्वजनिक गरेको थियो । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपीनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए । त्यही क्रममा हमासले इजरायलमा आक्रमण गर्नुका साथै विपीनलाई अपहरण गरी लगेको थियो ।

यसै सन्दर्भमा सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका ९३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छायो । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा उनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगे, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन् । केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन । बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि पीडा त भयो नै, त्यसको आक्रोशमा घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलिकी जोशी परिवारको भनाइ छ । बिहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन् । परिवारका सदस्य किशोर जोशीले भने, “लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ । दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैनन् ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।
बहिनी पुष्पाको भाइटीका लगाउने सपना अधुरो बन्न पुगेको छ । दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यसपटकको भाइटीका लगाउन पाउँ । तर त्यो सपना पूरा भने हुन सकेन । दुई वर्षपछि तिहारकै दिन दाइको शव घरमा पुगेपछि उनी सम्हालिन सकेकी छैनन् ।

विपीनको खोजीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दबाव बढाइए पनि अन्ततः उनी जीवित नभएको हमासले बताएको थियो । विभिन्न प्रक्रिया पूरा गरी हिजो दिउँसो काठमाण्डौ ल्याइएको विपीनको शव साँझ अबेरमा महेन्द्रनगरमा रहेको घरमा पु¥याइएको थियो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठूलोबुवा रामदत्त जोशीले दागबत्ती दिए ।
नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए । राजदूत नेतृत्वको टोली शवसँगै काठमाण्डौबाट विपीनको अन्त्येष्टिसम्म सहभागी भयो । विपीनको काजक्रिया ठूलाबुवा रामदत्त जोशीले गरिरहेका परिवारजनको भनाइ छ । शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपीनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

यसपटक पनि तिहारमा भाइटीका लगाउने ठूलो आशा बोकेर उनी आमासँगै दाइको रिहाइका लागि इजरायल हुँदै अमेरिकासम्म पुगेर हरसम्भव प्रयास गरे । विडम्बना बहिनी पुष्पा र आमा पद्मा अमेरिकामै रहेकाबेला विपिन अस्ताएको दुःखद् खबर सुन्नप¥यो । हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि सोमबार राति लक्ष्मीपूजाकैै दिन कफिनमा घरस्थित घरमा पुग्दा सिंगो गाउँ नै सन्नाटामा डुबेको छ । झिलिमिली तिहार मनाउने तिहारको समयमा एक होनहार युवा गुमाएपछि गाउँ नै शोकमा डुबेको छ । केहि बेर घरको आँगनमा राखिएको शवप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूको भिड लाग्यो र ठूलो शवयात्रा सहित अन्तिम संस्कार हुन पुग्यो । अल विदा विपिन !