भाइटीका आज धुमधामका साथ मनाइयो, सकियो तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिनका रूपमा मनाइने भाइटीका आज देशभर श्रद्धा र उल्लासका साथ मनाइयो। कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्परागत रूपमा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर पर्व मनाए।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, भाइटीका लगाउँदा दिदीबहिनीहरूले दाजुभाइको कल्याण र दीर्घायुको कामना गर्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको हो। टीका लगाइएपछि दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका लगाई सौभाग्य र ऐश्वर्यको कामना गर्छन्।

आज दिनभर टीका लगाउन शुभ मानिए पनि समितिले साइत खोज्नेका लागि मध्याह्न ११:३९ बजेको समयलाई उत्तम ठानेको थियो। सरकारी स्तरमा पनि सोही साइतमै टीका लगाइयो।

भाइटीकाको अवसरमा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीका माला, साथै ओखर, कटुस, सेलरोटी र विभिन्न मिठाइका परिकार अर्पण गरे। दाजुभाइहरूले पनि गच्छेअनुसार दक्षिणा र उपहार दिएर स्नेह प्रकट गरे।

दिदीबहिनी नहुनेका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज विशेष रूपमा खोलिएको थियो। वर्षमा एकपटक मात्र खुल्ने यो मन्दिरमा भाइटीका नलगाउन पाएका भक्तजनले पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ। त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि यस्तै प्रचलनअनुसार बिहानैदेखि भक्तजनहरूको भीड लागेको थियो।

आजको भाइटीका पर्वसँगै पाँच दिनसम्म मनाइने यमपञ्चक अर्थात् तिहार पर्वको समापन भएको छ।