मतदान स्थलको बर्गिकरण र विश्लेषण गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयको जिल्ला सुरक्षा समितिलाई निर्देशन

by | कार्तिक ८, २०८२

मतदान स्थलको बर्गिकरण र विश्लेषण गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयको जिल्ला सुरक्षा समितिलाई निर्देशन

धुलिखेल/गृह मन्त्रालयले निर्वाचन लक्षित सुरक्षा योजना निर्माण गर्न र हाल कायम रहेका मतदानस्थलहरुको परिवर्तित परिस्थितिमा बर्गीकरण गर्नु पर्ने भएकाले जिल्ला सुरक्षा समितिबाट संवेदनशीलस्तर विश्लेषण र बर्गिकरण गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ । निर्वाचनलाई लक्षित गरि ५ बुँदे निर्देशन जारी गरिएको छ ।


गृह मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ–‘सामान्य, संवेदनशील र अति संवेदनशील क्षेत्र बर्गिकरण गरी मन्त्रालयसमक्ष प्रतिवेदन पेश गर्नु ।’ सरोकारवालाहरुको समन्वयमा जिल्ला स्तरमा निर्वाचनमैत्री वातावरण बनाउँदै जानु र सुरक्षा निकायहरुबाट समन्वयात्मक निर्वाचन सुरक्षा लक्षित गस्ती प्रेट्रोलिङ्ग बढाउनु निर्देशन दिईएको छ । त्यस्तै निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ तर्जुमा शुरु भएकाले जिल्लास्तरमा यसपूर्वको निर्वाचन सुरक्षा अभ्यास तथा अनुभव समेतका आधारमा सबै सुरक्षा निकायहरुले उक्त निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सुरक्षाकर्मी, हातहतियार, संचार उपकरण, सवारी साधन लगायतका विषयमा लेखाजोखा गर्न, निर्वाचन विरोधी गतिविधि एवं भूमिगत समूहद्वारा संचालित कृयाकलापहरुको पहिचान एवं नियन्त्रणका लागि सूचना प्राप्ति, विश्लेषण र कार्ययोजना बनाई समन्वयात्मक तवरले प्रभावकारी रुपमा कार्यन्वयन तथा प्रतिवेदन गर्ने निर्देशन दिईएको छ । 

२०८२ असोज ३० सम्म काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १३ हजार ३ सय ५० मतदाता कायम भएका छन् । १ लाख ५९ हजार ८ सय ६९ पुरुष, १ लाख ५३ हजार ४ सय ७९ महिला र अन्य २ जना मतदाता कायम रहेका छन् । १३ वटा पालिकामा १ सय ३५ वटा वडामा १ सय ८७ वटा मतदान स्थल कायम थिए । सबै भन्दा धेरै बनेपा नगरपालिकामा २४ वटा मतदान स्थल थिए भने पनौतीमा २० वटा, पाँचखालमा १८, धुलिखेलमा १९, मण्डनदेउपुरमा र नमोबुद्धमा १६/१६, रोशीमा १४, भुम्लुमा १३, चौरीदेउरालीमा ११, खानीखोलामा १०, तेमाल र बेथान्चोकमा ९/९ र महाभारतमा ८ वटा मतदान स्थल कायम रहेका छन् । क्षेत्र नम्वर १ मा १ सय ८९ मतदान केन्द्र र क्षेत्र नम्वर २ मा २ सय मतदान केन्द्र थिए । कुल मतदान केन्द ३ सय ८९ रहेका थिए ।
स्थानीय तहको निर्वाचन २०७९ मा ३ लाख ३ हजार ५ सय ६० मतदाता योग्य थिए । २०७९ मसिंर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ५२ हजार ६ सय २१ मतदाता थिए भने क्षेत्र नम्वर २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता थिए २०८२ फागुन २१ गते तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको छ । मसिंर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको तालिका तोकेको छ । माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचार प्रसार हुनेछ । प्रचार प्रसार सकिए पछि मौन अवधी शुरु हुनेछ । फागुन २१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म देशभर नै एकै चरणमा मतदान हुनेछ ।


२०८२ कार्तिक मसान्तसम्म मतदाता नामावली अद्यावधीक गर्ने तालिका सार्वजनिक भएको छ । मसिंर १५ गते समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्द सूची पेश गर्ने तालिका छ । निर्वाचनमा भाग लिने प्रयोजनका लागि कार्तिक ३० भित्र नै दल दर्ता गर्न आयोगले अनुरोध गरेको छ ।