७ किलो गाँजासहित ३ भारतीय नागरिक पक्राउ
७ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारनजिकैबाट प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय फिरोज अहमद सम्पद छन्।
गाँजाजस्तो देखिने वस्तु सात किलो २९५ ग्रामसहित शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हरगोविन्द र समीर एयर एसियाको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका थिए। तीन किलो ६४० ग्राम ‘गाँजा’सहित उनीहरू दुईजनालाई पक्राउ गरिएको हो।
यस्तै, इन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई तीन किलो ६५५ ग्राम ‘गाँजा’सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।






